पथरीशनिश्चरे नगरको हिँउदे अधिवेशन फागुन २८ गते गर्ने तयारी

फागुन ७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको हिउँदे अधिवेशन् यही फागुन २८ गते हुने भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ऐन, कानून, कार्यविधि, निर्देशिका पारित गर्ने तथा अर्धवार्षिक कार्य समीक्षा समेतका लागि फागुन २८ मा हिँउदे अधिवेशनका रुपमा नगरसभा गरिने निर्णय गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

कोरोना भाइरसको संक्रमणको अवस्था हटिनसकेकाले सिमित भेलामाझ नगरसभा सम्पन्न गर्ने समेत निर्णय भएको पनि उनले जनाए । बैठकले, कृषि सिंचाई शिर्षकमा रहेको ४० लाख रुपैयाँ प्रति वडा ४ लाखका दरले वडाभित्रका आवश्यकताका आधारमा वडा समितिले सिंचााईका योजनाहरुमा समावेश गराउने पनि निर्णय भएको छ ।

यसका साथै भूमि आयोगको जारी लगत संकलन कार्यलाई तीव्रता दिँदै फागुन १४ गते अगावै सम्पन्न गरिसक्नु पर्ने निर्देशन बमोजिम थप गरिएका लगत संकलन सहयोगीहरुका लागि खाजा भत्ताको व्यवस्थापन गर्ने कुराको पनि अनुमोदन गरिएको छ । बैठकमा ‘लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७’ पारित भएको छ ।

सम्बन्धित खवर