असार १५ गते, पथरी । १८ औं राष्ट्रिय धान दिवश तथा रोपाईं महोत्सवमा पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना विष्ट वास्तोला सहित ३ जना सम्मानित भएका छन् ।
वडा नम्बर ६ को भातेगौंडास्थित कुटो कोदाली कृषि सहकारी संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लामा मात्र नभएर १ नम्बर प्रदेशमै सवैभन्दा बढी संख्यामा विवादहरु निरुपण गरेकोमा नगर उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो ।
त्यस्तै, कृषि तथा पशुपंक्षीको क्षेत्रमा कृषकलाई प्रोत्साहित गर्दै कार्यक्रम तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल र कृषि शाखा प्रमुख सावित्रा कार्कीलाई पनि सम्मानपत्रले सम्मानित गरिएको छ ।
नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु सहभागि भई धान रोप्ने कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले कृषिप्रधान नगरमा कृषि क्षेत्रको विकासमा नगरले थप प्रगति गर्न बाँकी रहेको उल्लेख गर्दै प्रगतिको प्रयास भइरहेको जनाए ।
नगरपालिकाको सहयोगमा ‘धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराकासाथ पञ्चेवाजा बजाएर नाचगान गर्दै दहीचिउरा खाएर दिवशलाई हर्षाेल्लासपूर्वक मनाइएको थियो ।
त्यसैगरी, पथरी कृषि सहकारी संस्थाका आयोजनामा वडा नम्बर ६ मै कृष्ण आचार्यको खेतमा भएको सामुहिक रोपाईंमा पनि नगर प्रमुख, उपप्रमुख सहितको सहभागिता रहको थियो ।
असार १५ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा नगरले सञ्चालन गरेका ८ वटा स्वास्थ्य संस्थाहरुको न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आज नगर अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरका स्वास्थ्य संस्थाहरुको थप व्यवस्थापनमा नगर लागिपर्ने वताए । पथरीशनिश्चरे र हसन्दहमा ३ ठाउँमा आयोजना भएको कार्यक्रममा न्यूनतम सेवा मापदण्ड निर्धारण मुल्यांकन समिति गठन गरिएको छ ।
समितिले स्वास्थ्य संस्थालाई थप व्यवस्थित गर्न न्यूनतम मापदण्ड कार्यान्वयन सुदृढीकरणकालागि अध्ययन गरेर प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ । कार्यक्रममा जनप्रतिनिधिका साथमा सम्वन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।