साउन ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बढ्दै गएको प्रदुषण नियन्त्रण गरी स्वच्छ वातावरण कायम गर्न र खोलामा तटवन्धका लागि समेत बृक्षारोपण आवश्यक रहेको बताइन ।
उपप्रमुख वास्तोलाले आज नगरको वडा नम्बर ६ स्थित विशाल सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा बताएको हो ।
उहाँले सो वनको डाँसखोला किनारमा बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रुपमा विभिन्न ७ जातका विरुवा रोप्ने कार्यक्रममा सहभागि भई नगरका कुनै पनि सृजनशील काममा नगरपालिकाले सधैं सहकार्य गरिरहने बताइन ।
कार्यक्रममा, सव डिभिजन वन पथरीका अधिकृत सुरेन्द्र कार्की, सामुदायिक वन अभियानकर्मी रत्नबहादुर वस्नेत, समाजसेवी पर्शुराम कटुवाल सहितले मन्तव्य व्यक्त गर्दै समूहको यसखाले काममा सवैले सहयोग पुर्याउनु पर्ने वताइन ।
त्यहाँ, सव डिभिजन वन कार्यालय मंगलबारेले प्रदान गरेको टिकका ५ सय, मसलाका ४ सय, सालका ३ सय, खयर, लटर, जामुन र कर्माका १,१ सय गरी १ हजार ६ सय वटा विरुवा रोप्ने काम भएको छ । ०५७ सालमा डाँस खोलाको उकास क्षेत्रमा सिसौ, खयर सहितको बृक्षारोपण गर्दै साढे ४ हेक्टर क्षेत्रलाई सामुदायिक वनका रुपमा विकास गरिएको समूह अध्यक्ष देवीमाया काफ्लेले जनाइन ।