माघ २० गते, कानेपोखरी । भूमिहीन दलित, अव्यवस्थित बसोबास र भूमिहिन सुकुम्बासीहरुको समस्या हल गर्न कानेपोखरी गाउँपालिकामा स्थानीय सेवा केन्द्र स्थापना भएको छ ।
विहिबार गाउँपालिकामा एक कार्यक्रम विच भूमी आयोगका केन्द्रीय अध्यक्ष केशब निरौलाले सेवा केन्द्रको उद्घाटन गरेको हो । सेवा केन्द्र उद्घाटन गर्दै अध्यक्ष निरौलाले स्थानीय तहमार्फत आयोगले काम अघि बढाउने हुँदा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले सुकुम्बासीहरुको समस्या हल गर्न मोरङ जिल्ला पहिलो प्राथमिकतामा रहेको बताए । उनले अघिल्ला आयोगले काम जहाँ पुर्याएका थिए त्यहीबाट थाल्ने पनि बताए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सुुकुम्बासी समस्याहरुका कामहरु यस अघि अरु पालिका भन्दा धेरै काम गरेको भएको बताए । उनले यस अघिका लालबाबु पण्डित आयोग, बसन्त भट्टराई आयोगले वितरण गरेका धेरै पुर्जाहरु मोठकायम हुन सकेको छैन, त्यसको समाधान तर्फ लाग्न आग्रह गरेका छन् । पुराना आयोगका अधुरा काम र दलित, भूमिहिन र अव्यवस्थित सुकुम्बासीहरुको समस्या समाधान गर्न गाउँपालिका प्रतिवद्ध रहेको अध्यक्ष काफ्लेले बताए ।
गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले कानेपोखरी गाउँपालिकामा सुकुम्बासीहरुको समस्या जटिल भएकोले सरकार परिवर्तन हुने वितिकै अर्को कार्यालय उद्घाटन गर्ने भन्दा पनि सुकुम्बासीहरुको समस्या समाधान तिर लाग्नु पर्ने बताइन् ।
आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताए । कार्यक्रममा नेकपा एमालेबाट भोला अधिकारी, माओवादी केन्द्रबाट मनोज राजवंशी, नेपाली कांग्रेसबाट जबरबहादुर राई र नेकपा एसबाट भूमि दुलालले बोलेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी पनि उपस्थित रहेका थिए । कार्यक्रम छौटौ अधिकृत गोविन्द फुयलले सञ्चालन गरेका थिए ।
दलित, भूमिहिन र अव्यवस्थित सुकुम्बासीहरुको कार्यालय स्थापना गरेको दोस्रो पटक हो । यस अघि देवी ज्ञवाली आयोगले गाउँपालिकामा २०७७ माघ १० गते लगत संकलन इकाई कार्यालय स्थापना गरेको थियो ।