भूगोल मिलाएर उम्मेवारी तय गर्दा एमालेको थप जनलहर

 

बैशाख २१ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि प्रमुख उम्मेदवार चयनमा भूगोल समेतलाई ख्याल गरिएको कुराले नेकपा एमालेको पक्षमा थप जनलहर सृजना भएको छ ।

उम्मेदवारी दर्ता गराएका ६ दलमध्ये एमालेको सवै वडामा जनलहर छ । नगर प्रमुखमा साविक पथरी गाविसका अध्यक्ष भइसकेका वडा नम्बर २ मोहनप्रसाद तुम्वापो र उपप्रमुखमा पार्टीकी नगरकै अगुवा नेतृ वडा नम्बर ६ अन्तर्गतको साविक हसन्दहकी देवीमाया काफ्लेको उम्मेदवारीले थप जनलहर सृजना भएको पाइएको छ । बजार क्षेत्रबाटै प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने कुरालाई यसले चिरेर भूगोलको विकटताका हिसावले पछि परेको हसन्दहलाई समेत उत्तिकै प्राथमिकता दिएकोप्रति खुसी छाएको हसन्दहका मुस्लिम समुदायका एक अगुवा बताउछन् । वडा नम्बर ५ स्थित भेटघाट चोक पूर्व वालुवाटारका राज राई भन्छन् ‘हाम्रो पछि परेको हसन्दह क्षेत्रबाट एमालेले उपप्रमुखको उम्मेदवार उठाएकोमा खुसी छौं । उहाँले जितेर वक्राहा खोलाको समस्या समाधान गर्न समेत पहल गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।’

२०५४ मा एमालेबाट पथरी गाविसका अध्यक्ष निर्वाचित भएका चुस्त कार्यसम्पादनका अनुभवी तुम्वापो पार्टीको हाल प्रदेश सदस्य हुन् । सादगी जीवन विताउन रुचाउने तुम्वापो पार्टीका बौदिक नेता र स्पष्ट वक्ताका रुपमा परिचित छन् । ‘मेरो पहिलेको अनुभवलाई अहिलेको संघीय व्यवस्थाको मर्मसँग जोडेर नगरमा केहि नयाँ कुरा गर्ने मेरो उत्साह छ । त्यसका लागि विजय प्राप्त गर्ने प्रतिष्पर्धामा अगाडि छु । ’– उनले भने ।

जीवनको लामो समय सामाजिक अभियानमा सक्रिय रहँदै आएकी काफ्ले निष्ठाको राजनीति गर्दै समाज रुपान्तरणमा होमिइरहेकी छन् । लगातार तिनपटक पार्टीको जिल्ला सदस्यका रुपमा हालपनि कार्यरत छन् । जननेता मदनकुमार भण्डारीको सामिप्यताको मार्गदर्शनले आफुलाई निष्ठाको राजनीति र सामाजिक काममा हिँडाएको उनको भनाई छ । उनले साविक पथरीतर्फको भूगोलमा पनि आफ्नो प्रभाव यसबेला प्रचार प्रसारका रुपमा थप विस्तार गरिरहेकी छन् । ‘सामाजिक काममै जीवन समर्पण गरें । अव एक पटक जनप्रतिनिधि भएर नगरमा सेवा गर्ने मेरो अठोट छ ।’– उनले जित्ने उत्साहका साथ भनिन् । पहिलो कार्यकालमा एमालेबाट नगर प्रमुखमा दिलीपकुमार राई र उपप्रमुखमा एमालेबाटै यमुना विष्ट वास्तोला निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार नगेन्द्र सुब्बा र उपप्रमखकी उम्मेदवार कविता पराजुली वडा नम्बर १ को पथरी बजारका आँगन जोडिएका छिमेकी हुन् । ‘अरुको भोट बाँडिन्छ, हाम्रो कतै नबाढिने भएकाले हामी दुवैले जित्छौं ।’– दुवैको एकैखाले भनाई छ । पार्टीका पुराना बफादार भएपनि सामाजिक काममा खास सक्रिय नदेखिएका सुब्बाको सवालमा कांग्रेसभित्र नै पनि असन्तुष्टि व्याप्त देखिएको छ । पराजुली सामाजिक काममा सक्रिय भएपनि दक्षिणी क्षेत्रमा उनको पनि सामाजिक उपस्थिती खास छैन । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीको गठवन्धनबाट नगर प्रमुखको उम्मेदवारमा माओवादीका दिननाथ तिम्सिना र नेकपा समाजवादीकी विन्दु राई छन् ।

दुइमध्ये विन्दुलाई बढी रुचाइएको भएपनि जितका लागि भनें एमालेसँग टक्कर लिन नसक्ने देखिएको वडा नम्बर २ का मतदाता सविन राईको बुझाई छ । विन्दु संविधानसभा सदस्य चण्डीप्रसाद राईकी श्रीमती समेत भएकाले उनको सामाजिक सक्रियताले थप भोट तान्ने देखिन्छ । प्रमुखमा कांग्रेससँग र उपप्रमुखमा नेकपा समाजवादीसँग केही प्रतिष्पर्धा हुने मतदाताको विश्लेषण छ । कांग्रेसले जित्ने कोशिसमा बल गरेको भएपनि अन्य गठवन्धनले भनें आफुहरुले जित्ने अवस्था नभएपछि के कसरी हुन्छ एमालेलाई हराउने रणनीति अघि सारेको स्रोतले बताएको छ । राप्रपाले पनि यो पटक आफ्नो मत बढाउने देखिन्छ । कांग्रेसको प्रमुखको उम्मेदवारको सन्दर्भले नेकपा समाजवादीले एमाले र कांग्रेसको उस्तै उस्तै रुपमा भोट काट्ने तथा माओवादीको भोट घट्ने भएकाले अघिल्लो निर्वाचनकै जस्तो अवस्था सिर्जना हुने विश्लेषण छ । वडा वडामा युवा उम्मेदवारको संख्या यो पटक सवै दलमा बढेको छ ।

एमालेबाट वडा नम्बर १ देखि १० सम्ममा क्रमश : भीमकुमार राई, नैनासिंह राई, घनश्याम कोइराला, प्रेमप्रसाद न्यौपाने, उमानाथ अधिकारी, निर्मल कटुवाल, उद्धवराज वस्नेत, नवीनजंग कार्की, भानुभक्त राई र जीवन खतिवडा वडाध्यक्षको उम्मेदवार बनेका छन् । जसमध्ये भानुभक्त राई ९ नम्बरका निवर्तमान वडाध्यक्ष हुन् ।

नेपाली कांग्रेसबाट वडा नम्बर १ देखि १० सम्म क्रमशः राजेन्द्र वस्नेत, टीका तामाङ, विजय सुब्बा, लोककिरण न्यौपाने, चेतेन्द्र खड्का, कृष्ण बस्नेत, जीतन राई, टेकबहादुर थापा, वीरबहादुर राई र भूवन थापा वडाध्यक्षको उम्मेदवार छन् । एमालेले २०७४ को निर्वाचनमा पराजय भोगेको वडा नम्बर ५, ६, ८ र १० मा यो पटक जित्ने अवस्था सिर्जना भएको छ । ५ मा कांग्रेसको अगुवाईमा कांग्रेस र माओवादी मिलेर स्वतन्त्र प्यानलै बनाएपछि कांग्रेसकै भोट काटाकाट भएर एमालेले जित्ने अवस्था सिर्जना भएको छ । ८ मा सामाजिक काम गरेर सवैको प्रीय हुन सफल भएका नवीजंग कार्की र १० का पुराना अनुभवी तथा सामाजिक काममा सक्रिय भएर लामो समयदेखि जिल्ला सदस्य रहिरहेका जीवन खतिवडाको बढी चर्चा छ । राप्रपाबाट नगर प्रमुखमा शम्मरबहादुर राई उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेशनबाट पुजन राई नगर प्रमुखको उम्मेदवार रहेका छन् ।

२०७४ को निर्वाचनमा वडा नम्बर १, २, ३, ७ र ९ बाट एमालेले अध्यक्ष सहितको प्यानलै जितेको थियो । ४ मा माओवादीले प्यानलै जितेको थियो । ५, ६ र १० मा अध्यक्षमा नेपाली कांग्रेसमा जितेपनि सदस्यहरु मिश्रितरुपमा निर्वाचित भएका थिए ।

भौतिक विकासमै जोड दिइएको अवस्थाका सवै पार्टीको घोषणापत्रह उस्तै उस्तै नै छन् । एमालेले आफ्नो पार्टीको प्रमुख र उपप्रमुख रहेको बेला सुरु गरेको हाल १५ शैयाको नगर अस्पताललाई कम्तिमा २५ शैयाको बनाउने, दीर्घ रोगी र मृगौला पिडीतको डाइलासिस उपकरण अस्पतालमै व्यवस्थापन गर्ने, महिला स्वास्थ्य स्वयमसेविकालाई अवकास हुँदा दिइदै आएको ६० हजारलाई बढाएर १ लाख पुर्याउने सहितका कुरा एमालेको घोषणापत्रमा उल्लेख छ ।

नगरपालिकाको कार्यालय भवन निर्माण, खोलाहरुमा तटवन्ध, सडक कालोपत्रे, पुल पुलेसा निर्माण, सामुदायिक माविहरुमा ५ वर्षभित्र विद्युतीय कक्षाको व्यवस्थान गरिसक्ने सहितका घोषणा गरिएको छ । भूमि समस्या समाधानलागि सम्बन्धित निकायमा पहल, कृषि, पशुपालन क्षेत्रको विकास, सामुदायिक वनहरुसँगको साझेदारीमा वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धन, युवा तथा खेलकुद, कला, साहित्य र संस्कृतिको संरक्षण, महिला समानता र सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा पनि उसैगरी उल्लेख छ । सुसासन तथा प्रविधिमैत्री वातावरणको पक्षमा पनि घोषणापत्र बोलेको छ ।

दल र स्वतन्त्र समेत गरी २८३ जनाले दिएको उम्मेदवारीमध्ये १६ जनाले फिर्ता लिएका छन् । नगर प्रमुखमा २ स्वतन्त्र सहित ८ जना, उपप्रमुखमा १ स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । वडाद्यक्षमा ५८, खुला सदस्यमा ११४, महिला सदस्यमा ५१ र दलित महिला सदस्यमा ४५ जनाको उम्मेदवारी परेको थियो । नगरमा २० वटा मतदानस्थलमा ५९ केन्द्र कायम गरिएको छ । पथरी बजार क्षेत्रका रुपमा रहेको वडा नम्बर १ मा सबैभन्दा बढी ७ हजार ६ सय ७९ मतदाता छन् । २ मा ५ हजार ४५, ३ मा ५ हजार ३ सय ७३, ४ मा ५ हजार ६ सय ३७, ५ मा ४ हजार ३ सय ५६, ६ मा ४ हजार ८ सय २२, ७ मा ४ हजार ७३, ८ मा ४ हजार २ सय ९९, ९ मा ४ हजार ९ सय ७० र १० मा ५ हजार ७० जना गरी नगरमा कुल ५१ हजार ३ सय २४ मतदाता रहेको नगरको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर