केराबारी गाउँपालिकाका जनप्रतिनीधिलाई सम्मान

असार २६ गते, केराबारी । केराबारीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थापित दुइओटा संस्थाले जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी केराबारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । केराबारी व्यापार प्रबन्ध समिति र शुभखानेपानी उपभोक्ता तथा सरसफाई समितिले संयुक्त रुपमा बधाई शुभकामना दिर्दै सम्मान गरेको थियो ।

कार्यक्रममा स्थानीय तहमा निर्वाचित वडाध्यक्ष, गाउँपालिका उपाध्यक्ष र अध्यक्षलाई शुभकामना पत्र हस्तान्तरण संगै स्मरण पत्र समेत प्रदान गरिएको थियो । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले केराबारी गाउँपालिकाको विकास र समृद्धिको लागि गर्न सकिने कार्यक्रमको सूची सहितको १८ बुँदे स्मरण पत्र प्रदान गरेका छन् ।

केराबारीको विकास र समृद्धिको रेखा कोर्न स्थानीय तहमा के गर्न सकिन्छ भन्ने विषयमा विभिन्न १८ ओटा बँुदामा तयार पारिएको स्मरण पत्र गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले ग्रहण गर्दै सकेसम्म सबै बुँदाहरुलाई कार्यान्वयनमा ल्याउने गरी आवश्यक काम कार्वाही अघि वढाउँन पहल गर्ने बताए ।

व्यापार संघका अध्यक्ष शाहीले सो स्मरण पत्रमा भएका १८ ओटा बुँदा मध्ये ९ ओटा बुदा मात्र कार्यान्वयन गर्न सकेपनि केराबारीको मुहारमा धेरै परिवर्तन आउन सक्ने र यसले जनप्रतिनीधिको विश्वास समेत वढ्ने भएकाले सकेसम्म क्रमागत रुपमा सबै बुदालाई कार्यान्वयनको चरणमा ल्याउन आग्रह गरेका छन् ।
कार्यक्रममा कार्यपालिकाका सदस्य तथा गाउँपालिकाको प्रवक्ता नारायण भूजेल, वडाध्यक्षका तर्फबाट ९ नं.वडाध्यक्ष गोपाल राई याखाले जनप्रतिनीधिलाई सम्मान भन्दा पनि केही गर्नुपर्छ भन्ने स्पष्ट मार्गदर्शन आवश्यक भएको औल्याउदै स्मरण पत्रले जनप्रतिनीधिहरुलाई ५ वर्षसम्म स्मरण गराउन सक्ने बताए । कार्यक्रम गोकुल वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

सम्बन्धित खवर