फोनिजको जिल्ला भेला बेलबारीमा सम्पन्न

फागुन २० गते, बेलबारी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बेलबारीको नगरपालिकाको सभाहल जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । संघीय समितिको आयोजनामा आगामी फागुन २७ र २८ गते मधेस प्रदेशको जनकपुरमा हुने नीति तथा बिधान सम्मेलनको लागि फोनिज मोरङले भेलाको आयोजना गरी छलफल गरेको थियो ।

छलफलमा प्रमुख अतिथि फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, अतिथिहरु संघीय समिति सदस्य देवेन्द्र खापुङ, सुजाता लिम्बू, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व उपाध्यक्ष फिपराज बेघा, प्रदेश पदाधिकारी, र सदस्यहरु सहभागि रहेका थिए ।

भेलामा बोल्दै फोनिज संघीय उपाध्यक्ष देवानले पहिचान पक्षधरहरुको परिपाटी नमिल्दा र पहिचान विरोधी शक्तिहरुको प्रपन्च मिल्दा पहिचानलाई पाखा लगाएर कोशी नामाकरण हुन पुगेको बताए । देवानले भने –’जसरी पहिचान चाहनेहरुको मर्म र भावना कुन्ठित गरेर प्रदेशको नामाकरण गरियो, यो गम्भीर षड्यन्त्र हो । फोनिज यसको विपक्षमा दृढताका साथ उभिनेछ ।’

भेलाको सान्दर्भिकता बारे प्रकाश पार्दै उनले फागुन २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा सम्पन्न हुने फोनिजको नीति तथा विधान सम्मेलनमा सबैले उपयुक्त र प्रभावकारी सुझाव दिनुपर्ने भन्दै जिल्लाहरुको अत्यधिक सहभागिता जुटाउन पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय सदस्यहरु देबेन्द्र खापुङ र सुजाता लिम्बू, प्रदेश सल्लाहकार फिपराज बेघाले पहिचानको चाहनालाई कुठाराघात गरिनु निन्दनीय भएको टिप्पणी गरे । त्यस्तै, फोनिज प्रदेश १ का पूर्व अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेश सभाभित्र छलछाम गरेर पहिचान पक्षधरहरुमाथि प्रहार गरिएको भन्दै यसले द्वन्द्व र विद्रोहलाई जन्म दिएको जिकिर गरे ।

भेलामा सहभागी मध्ये प्रदेश कोषाध्यक्ष प्रेम देवान, सदस्य बाबुराम मुडियारी, मोरङ सहसचिव रामकुमारी तामाङ लगायतले विभिन्न सुझाव प्रस्तुत गरेका थिए । फोनिज मोरङ अध्यक्ष दिनेश सुब्बा लिम्बुको अध्यक्षतमा सम्पन्न भेलामा सचिव अनिल श्रेष्ठको सञ्चालन रहेको थियो ।

सम्बन्धित खवर