कानेपोखरी गाउँपालिकामा बाली तथा पशुपंन्छीको बीमा गरिने

असार ३०, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकाले कृषक तथा पशुपालकहरुका लागि आर्थिक वर्ष २०८०/०८१ देखी ‘बाली तथा पशुपंन्छी’ बीमा कार्यक्रम सुरु गर्ने भएको छ ।

असार १० गते सम्पन्न १४ औं गाउँसभाले गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘बाली तथा पशुपंन्छी’ बीमा कार्यक्रम सुरु गरिने कार्यक्रम सभाले पास गरेका थिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ लागि कृषि विकासको लागि ७१ लाख ५० हजार र पशुपंछी विकासको लागि १ करोड बजेट विनियोजन गरेको छ ।

“बाली तथा पशुपंक्षी बीमा” अन्तर्गत कृषकहरुले खेती गरेका सम्पूर्ण बालीहरु (खाद्यान्न,बाली, दलहन बाली, फलपफुल बाली, तरकारी बाली, मसला बाली, तेलहन बाली, च्याउ आदि), पालेका पशुपंक्षी, मौरी र माछाहरुको बीमा हुने व्यवस्था रहेको छ । यसकासाथै बीमा समितीबाट बीमालेख जारी गरी तोकिएको अन्य बाली तथा पशुपन्छीको समेत बीमा हुन्छ ।

बाली तथा पशुुपंक्षीको बीमा गर्दा ८० प्रतिशत नेपाल सरकारको अनुदान बाँकी २० प्रतिशत मध्ये ७५ प्रतिशत कानेपोखरी गाउँपालिकाले गरिदिने भएको हो । २० प्रतिशत मध्येको ५ प्रतिशत मात्र कृर्षकको खर्च रहने भएको छ ।

बाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्क हरेक बाली तथा पशुपंक्षी बीमा लेखमा तोकिए अनुसार हुनेछ । बालीहरुको बीमा गराउँदा तराईमा कम्तीमा १ कठ्ठा जमिनमा खेती गरिएको र पहाड तथा उच्च पहाडमा कम्तीमा आठ आना (आधा रोपनी) जमिनमा खेती गरिएको हुनु जरुरी मानिन्छ ।

बीमा गरिएको कृषिजन्य वस्तु /पशुपन्छी आदि पूर्ण क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा क्षतिको प्राबिधिकको मुल्याङ्कन तथा बीमालेखमा उल्लेख भए अनुसारको रकम प्राप्त हुन्छ ।

निश्चित प्रावधानको परिधि भित्र रही कृषकहरुले क्षतिपूर्ति पाउँछन्, जसले गर्दा कृषकलाई पर्न गएको जोखिमको न्यूनिकरण गर्न सजिलो पर्दछ । बीमा एक जोखिम हस्तान्तरण गर्ने कानूनि प्रावधान हो, यस प्रक्रियामा वीमित र बीमकका बीचमा एक आपसमा सम्झौता गरिएको हुन्छ । कृषि बीमाले सम्झौता र सर्तहरुका आधारमा बीमितमा पर्न सक्ने वा परेको जोखिमको भार लाई बहन गर्दछ । बीमालेखमा आधारित रहेर बीमकले बीमितको खेतीको रक्षावरण गर्दछ ।

विधिवत रुपमा नेपालमा “बाली तथा पशुपंक्षी बीमा” २०६९ साल माघ १ गते देखि सुरु भएको हो । कृषक समुदायमा बीमा कम्पनीहरुको सहज पहुँच पुर्याउने तथा बाली तथा पशुपंक्षी बीमा व्यवसायलाई प्रवन्धन गर्नका लागि १७ वटा निर्जीवन बीमा कम्पनीहरु यस कार्यमा संलग्न छन् ।

सम्बन्धित खवर