असोज १०, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ३ को आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन सिलान्यास भएको छ । बुधबार गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र वडाध्यक्ष गोपाल बहादुर कार्कीले संयुक्तरुपमा शिलान्यास गरेको हो ।
स्थानको बारेमा लामो समय सम्म विवाद रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि सलबले चौकका मोहन प्रसाद खतिवडाले निशुल्क जग्गा प्रदान गरेको छ । पालिकाको ६ वटै वडामा यस अघि नै भवन निर्माण गरी सञ्चालनमा आइसकेको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणमा अन्य वडाको तुलनामा वडा नं. ३ पछि परेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवा, वडाका वडा सदस्यहरु उपस्थित रहेका थिए ।
वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि संघीय सरकार स्वास्थ्य मन्त्रालयको ५२ लाख ३ हजार ३ सय ६७ रुपैया विनियोजन गरेको छ । यस्तै भवन निर्माणको ठेक्का विराटनगरका भिमेश्वर कन्स्ट्रक्सनले लिएको छ । भवन निर्माण कार्य सम्पन्न गर्न आगामी असार मसान्त सम्म रहेको गाउँपालिकाले जनाएको छ ।