२३ कात्र्तिक, कानेपोखरी । मोरङको कानेपोखरी–७ स्थित ऐतिहासिक कानेपोखरीमा रहेको सार्वजनिक शौचालयको मुल ढोकामा ताला लगाईएको छ ।
अपरिचित समूहले मुल ढोकाको ताला फुटाएर भित्रको ढोकाहरु तोडफोड गरेको समाचार बाहिरिएपछि विहिबार शौचालयको सरसफाई गरी ताला लगाईएको हो । कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलको नेतृत्वको नगरप्रहरीको टोलीले शौचालय भित्र र बाहिर सरसफाई, वनभोज खाने टहराको सरसफाई पोखरी वरिपरी सरसफाई गरिएको नगरप्रहरी प्रमुख युवराज भुजेलले बताए ।
गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीका अनुसार यसको संरक्षमा जोड्दिर्दै अहिले तत्काल ताला चाबी लगाएर थप क्षति हुनबाट बचाउ गरेको र यसमा एउटा चौकीदार राखेर पोखरीलाई व्यवस्थित गरिने तयारी रहेको बताए । बन्द रहेको धारा र टयुवेल पनि केही समयमा संचालनमा ल्याउने उनले बताए ।
बिभिन्न संरचना चोडफोड
पर्यटकलाई आकर्षण गर्न दुई बर्ष अघि गाउँपालिकाबाट निर्माण गरिएको विभिन्न संरचनाहरु अपरिचित व्यक्तिहरुले तोडफोड गरेका छन् । प्रदेश सरकार र गाउँपालिकाबाट विनियोजित ५३ लाख भन्दा बढीमा निर्मित शौचालय, प्रवेशद्धार, कानको प्रतिमा, हरिणको प्रतिमा, टहरा, पोखरीमा लगाईएको बार, धारा, ट्युबेल भत्काउने र तोडफोड गर्दा पनि सम्बन्धित निकाय चुप बसेका थिए ।
यस बिषयमा मंगलबार यस निगरानी टाइम्सको आधिकारीक च्यानलबाट भिडियो समाचार सार्वजनिक भएपछि गाउँपालिकाले चासो व्यक्त गरेका छन् ।
पोखरीको छेउमा पर्यटक आकर्षण गर्न राखिएको दुईवटा हरिणको प्रतिमाको कान र सिंग अपरिचित व्यक्तिहरुले भाचिदिएको, पोखरी वरीपरी बारेको घेराबार भत्काइदिएको, धिमाल समुदायको कानेबेराङका प्रतिमाको टाउकोमा रहेको केश उखेलिदिएको, धारा टयुटी भत्काइएको छ ।
त्यतिमात्र होइन सार्वजनिक शौचालयको मुल ढोका भत्काएर भित्रको पुरुष र महिला शौचालयको ढोका टुक्रा –टुक्रा बनाएका छन् । त्यस्तै पोखरीको वरीपरी फोहरमैलाले ढाकेको छ । यस विषयमा यस निगरानी टाइम्सले भिडियो रिपोर्ट तयार पारी जनतामाझ पुर्याउने काम गरेको थियो ।
सार्वजनिक सम्पती सबैको हो र यसको सबैले रेखदेख गर्न जरुरी छ । यस क्षेत्रको नजिक रहेको एउटा ऐतिहासिक पर्यटकीय स्थललाई विकास गरी गाउँपालिकाको प्रमुख आय स्रोतको रुपमा विकास गर्न सकिन्छ ।