अष्ट्रेलियाको डढेलोमा मरे झण्डै पचास करोड पशुपंक्षी

हेमन्त काफ्ले, सिड्नी । अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका करण सयौं घरबारविहीन भए । डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन् ।

गाइबस्तुसँगै जंगलमा रहेका हजारौं कंगारु तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ । जसमा कीरा फट्यांग्रा बाहेक चराचुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेका छन् ।

अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कयैन बस्तीहरु आगलागीका कारण सखाप भएका छन् । त्यति मात्र होइन डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ ।

अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञहरुले बताएका छन्। यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ ।

आगलागीकै कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएका छन् । अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ ।

एनएसडब्लु सरकारले दुई पटक संकटकाल समेत धोषणा गरेर डढेलो नियन्त्रणको प्रयास गर्यो। पछिल्लो तीन महिनादेखि वर्षा समेत नभएका कारण चर्को घामले डढेलो विस्तार हुँदै गएको छ ।

ग्रामीण अग्नी नियन्त्रकले मात्र यसको समाधान गर्न नसक्ने जनाउँदै सरकारले सेना समेत परिचालन गर्यो। यद्यपी आजसम्म डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

सेतोपाटीबाट

सम्बन्धित खवर