असोज २८ गते, रमाइलो । आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशले कानेपोखरी गाउँपालिकालाई बारुण यन्त्र र प्रहरी भ्यान दिने भएको छ ।
मन्त्रालयको असोज २६ गतेको पत्र अनुसार १ थान बारुण यन्त्र र १ थान प्रहरी भ्यान कानेपोखरी गाउँपालिकालाई प्रदान गर्ने भएको हो । मोरङमा १७ वटा स्थानीय तह मध्ये यस आर्थिक बर्षमा कानेपोखरी गाउँपालिकाले मात्र पाउने भएको छ । सो बारुण यन्त्र र प्रहरी भ्यान भोली विहिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हातबाट प्रदेश प्रहरीको कार्यालयको प्राङ्गणमा हस्तान्तरण हुदैछ ।
गाउँपालिकामा बारुण यन्त्र नहुदा आगालागी जस्ता घटनाहरुमा सुनसरीको इटहरी र झापाको दमकबाट बारुण यन्त्र बोलाउनु पर्ने बाध्यता थियो । टाढाबाट बारुण यन्त्र पर्खदा धेरै क्षती हुने गरेको थियो । अव गाउँपालिकामै यन्त्र आउने भएपछि घटनामा क्षती कम हुने संभावना छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि ब्लीचिङ पाउडर छिट्न छिमेकी बेलबारी नगरपालिकाबाट बारुण यन्त्र ल्याई तीन दिन प्रयोग गरिएको थियो ।
रमाइलो प्रहरी चौकीको क्षेत्रको हिसावले चौकी देखि २२ किलोमिटर सम्म टाढा रहेको छ । प्रहरी चौकीमा प्रहरी भ्यान आउने भएपछि प्रहरीलाई गस्ती गर्न सहज हुने भएको छ ।
कानेपोखरी गाउँपालिका सहित १ नम्बर प्रदेशका ११ वटा पालिकाले बारुण यन्त्र र प्रहरी भ्यान पाउँदै
मोरङको कानेपोखरी गाउँपालिकाले मात्र होइन प्रदेश १ को ११ वटा जिल्लाले बारुण यन्त्र र प्रहरी भ्यान भोलि पाउँर्दै छन् ।
सुनसरी जिल्लाको कोशी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, खोटाङ्गको खोटेहाङ्ग गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, भोजपुरको हतुवागढी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकाले पाउने भएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशले भोलि विहिबार बारुण यन्त्र र प्रहरी भ्यान लिन पत्र मार्फत सवै पालिकालाई विराटनगर बोलाएको छ ।