पथरीशनिश्चरेमा नगर स्तरीय प्रिमियर लिग हुदै, १४४ खेलाडीले खेल्ने अवसर पाउने

कात्र्तिक २८ गते, पथरी । ग्रामिण क्षेत्रको हिसाबले नेपालमै पहिलो पटक मोरङको पथरीशनिश्चरे नगरमा नगर स्तरीय प्रिमियर लिग प्रतियोगिता हुने भएको छ । पथरीमा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटिले विहिबार पत्रकार सम्मेलनको अयोजना गरी नगर स्तरीय प्रिमियर लिग हुने बारे बताएका थिए ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटिको आयोजनामा हुन लागेको लिग मंसिरको दोस्रो साता देखी सुरु गर्ने तयारी गरेको छ । यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

प्रिमियम फुटबल लिगमा पथरीका ८ वटा क्लबले भाग लिएका छन् । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लब सहभागी हुने आयोजक समितिका सचिव मनी लुम्फुवा लिम्बुले बताए । लिग प्रतियोगीतामा सहभागी हुने क्लवले नगद १० हजार शुल्क खेल आयोजकलाई बुझाउनु पर्ने छ । प्रतियोगितामा १२ लाख खर्च हुने आयोजक कमिटिका अध्यक्ष संजिव गिरीले बताए ।

खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर, वेस्ट कोच र वेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ । खेल १५ दिन चल्ने छ ।

पालिका क्षेत्र भित्रको खेलाडीहरुलाई व्यवसायिक बनाउँदै राष्ट्रि खेलाडी उत्पादन गर्ने उद्देश्यले मोफसलमा पहिलो पटक प्रिमियर लिगको आयोजना गरेको आयोजक बताउँछन् । पथरीशनिश्चरे फुटबल प्रिमियर लिग कमिटिले धेरै मिहिनेतका साथ शुष्म अध्ययन गरी खेलको तयारी गरेको छ ।

पथरीशनिश्चरे नगरमा यसरी फुटबल खेल क्षेत्रमा नयाँ आयाम थप्न संजिव गिरी, बिक्कि राई (एम्पाएर), मनि सुब्बा, दीपक राई (ए डिभिजन स्टाइकर), दीपक पुलामी मगर (पूर्व चर्चित खेलाडी), भक्त राई, सुमन कुरुङ्बाङ्ग र नामहाङ्ग राई लागि परिेका हुन् ।

लिगमा सहभागि हुने क्लव सञ्चालकहरुको सहभागितामा खेलाडिहरुको प्रस्तुति हेर्न कार्तिक २२ गते ३५० जना खेलाडिको प्रदर्शनी खेल गरिएको थियो । खेलाडिहरुको स्किल देखाउन भएको प्रदर्शनी खेलपछि प्रतियोगितामा प्रतिष्प्रर्धा होस भन्ने उदेश्यले आयोजनकले नै क्लबहरुलाई एक—एक जना मार्कि प्लेयर (स्टार खेलाडिहरु) यस अघि नै दिएका छन् ।

प्रतियोगीतामा प्रत्येक क्लबले मार्कि प्लेयर खेलाडी सहित १८ जना खेलाडी छनौट गर्नु पर्ने छ । आयोजकले प्रत्येक खेलाडीको मुल्य रु ३ हजार देखि ८ हजार सम्म राखिदिएको छ । खेलाडी आयोजकको कार्यक्रम अनुसार प्रोजेक्टर मार्फत फोटो,उमेर, उचाई र स्थान हेरेर रकम वढाबडमा खेलाडी खरिद गरी मार्कि प्लेयर सहित १८ जना पुर्याउनु पर्ने आयोजक कमिटिले जनाएको छ ।

यो सिजनमा खेल्ने खेलाडिहरुको ३ देखि ८ हजार मुल्य तोकिएको छ । खेलाडिको स्तर हेरेर आयोजक समितिले नै आठ हजार, सात हजार पाँच सय, सात हजार र तीन हजार मुल्य तोकि दिएको हो ।

प्रतियोगिता प्रतिष्प्रर्धा होस भन्ने उदेश्यले हरेक क्लवले आठ, साढे सात र सात हजार मुल्यका दुई दुई जना खेलाडिहरु दामासायीमा लिनु पर्ने छ । तीन हजारदेखि आठ हजारका खेलाडिहरु डाक बढाबढमा छान्ने काम पनि बिहिबार नै सकिएको छ । डाक बढाबढमा एउटै खेलाडि पर्दा गोला प्रथाबाट क्लवलाई खेलाडि वितरण गरिएको आयोजक समिति सदस्य भक्त राईले बताए ।

आठ वटा क्लवहरुले १८ जनाको दरले खेलाडि लिइसकेका छन् । जस मध्ये यो सिजनामा १४४ खेलाडिले खेल्ने अवसर पाएका छन् । खेलाडि प्राप्त गरिसकेका क्लवहरुले लिग जित्न आफ्नै ढंगले खेलाडिको स्किल डेभलब गर्न तालिम दिनेछन । स्किल डेभलपको तालिम र खेलाडिहरुले लिगमा आफ्नो प्रस्तुति देखाउने पाउने भएकोले फुटबल खेलाडिहरुको बिकास हुने आयोजकहरुको विस्वास छ ।

आठ वटा टिमलाई दुई वटा पोलमा विभाजन गरेर लिग गराइने छ । आ—आफ्नो पोलमा हरेक क्लवले तीन—तीन वटा क्लवसँग प्रतिष्प्रर्धा गर्नुपर्ने छ । लिगको हरेक खेल जित्ने क्लवले ३ र बराबरीहुँदा १ अंक प्राप्त गर्नेछन् । लिग चरणमा बढी अंक ल्याउने दुबै पोलको दुई—दुई गरी चार टिमलाई नकआउट खेलाएर च्याम्पिएन छानिने फुटबरल समेत रहेका आयोजक समिति सदस्य दीपक राईले बताए ।

पथरीमा फुबटबलको इतिहास
संघीय गणतन्त्र स्थापनापछि पथरीशनिश्चरे नगरपालिका पूर्वी मोरङको पथरी, शनिश्चरे र हसन्दह गाविसमा मिलेर बनेको नगरपालिका हो । नगरको सदरमुकाम साविक पथरी गाबिसको पथरी बजार रहेको छ ।

यो क्षेत्रको फुटबल इतिहास हेर्दा ३५ बर्ष भन्दा लामो देखिन्छ । पथरीमा सन १९८७ मा तत्कालीन केदार एङ्देन लिम्बूको नाम खगाडि आउँछ ।

लिम्बूको नेतृत्वमा पथरी फुटबल च्याम्पियन कप फुटबल प्रतियोगिता गराएर पथरीले जितेको ट्रफी सुरक्षित रहेको पथरीशनिश्चरे खेलकुद परिषदको अध्यक्षसमेत रहेका मनि लिम्बूले बताए । त्यसपछि पथरीमा धेरै प्रतियोगिताहरु हुने नै भए । केदार एङ्देन लिम्बू पछि पथरीमा भीम सुब्बा र दीपक पुलामी मगर स्टार खेलाडिको रुपमा उद्य भए ।

यी दुई खेलाडि नेपालको धेरै प्रतियोगिताहरु देखि विभिन्न देशमा समेत खेल्न भ्याए । पूर्वी नेपालमा भीम सुब्बा र दीपक पुलामीको खेल हेर्न दर्शकहरु आकार्षित हुन्थे । फुटबल खेल क्षेत्रकै बिकासको लागि वि.स. २०७० र २०७१ मा पथरीका युवा समाजसेवी धनकुमार तामाङको नेतृत्वमा ‘पथरी गोल्ड कप’ पहिलो र दोस्रो सफल भयो । यो प्रतियोगिताले पथरीमा खेलाडिको बिकास मात्र गरेन पथरीलाई देश व्यापि रुपमा चिनाउने काम समेत ग¥यो ।

पथरीबाट उदयका खेलाडिहरु
पथरीका दीपक राई हाल ए डिभिजन क्लब मछिन्द्र क्लवका स्टाइकर हुन् । उनै दीपक राईले मछिन्द्रलाई गत सिजनको राष्ट्रिय लिग जिताएका हुन् । राई राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्लवमा आबद्ध भएर खेल्दै आएका स्टार खेलाडी हुन् ।

पथरीबाट उत्पादन भएका मिन धिमाल, साइमन लिम्बू नेपालकै चर्चित फुटबलर हुन् । ए डिभिजनमा आबद्ध यी खेलाडीहरु व्यवसायिक रुपमै खेल्दै आएका छन् । त्यसैगरी मनोज दाहाल अन्डर १६ को राष्ट्रिय टिमका गोल रक्षक हुन् । ‘बी’ भिडिजनमा सुबास तामाङ, सन्तोष न्यौपाने, लालबहादुर लिम्बू, युकेश तामाङ, मन्दिप धिमाल खेल्दै आएका छन् ।

‘सी’ डिभिजनमा निलम लिम्बू, बिशाल पाण्डे, मञ्जिल खड्का, मनोज गुरुङ खेल्दै आएका छन् भने असिम राई अन्डर १६ को राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन् । पथरीमा हुन लागेको पहिलो लिग खेलमा अधिकांश खेलाडीहरु आठवटा टिममा बाडिएर मैदानमा उत्रिनेछन् । प्रतियोगिता सफल गर्न करिव १२ लाख खर्च हुने आयोजक समितिको सदस्य दीपक राईले बताए ।

फुटबल खेल विश्वमा अधिकांशले चिनेको र मन पराएकोमध्ये एक हो । फुटबलप्रति चासो राख्नेहरुप्रति विश्व कप होस् वा दक्षिण एसियन (विश्वको क्षेत्रीय गेमहरु) र राष्ट्रिय लिग तथा स्थानीय स्तरमा हुने गोल्ड कपहरु हुँदा चाडपर्वझैं रमाउने दर्शकको कमी छैन ।

सम्बन्धित खवर