मंसिर १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले वचत गर्दै समृद्धितर्फ उन्मुख हुन नगरवासी र सिंगो नगरको समृद्धिका लागि अवस्था अनुरुपको सहकारी एकीकरण आवश्यक रहेको बताएका छन् ।
नगरमा वचत तथा ऋणको कारोबार गर्ने ३ वटा सहकारीको एकीकरण घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले सञ्चालनमा कठिनाई भएका मात्र नभएर आर्थिक समृद्धिका लागि पनि सहकारी एकीकरण आवश्यक हुने बताईन ।
वडा नम्वर १ को पथरीबजारमा कार्यालय रहेका जयभगवती, किर्तन र तिरुपति सहकारीले एकीकरण सभा गरी औपचारिक रुपमा तिनै एक भएको भन्दै समिति निर्माण गरेका छन् ।
समितिको अध्यक्षमा गुरुप्रसाद दाहाल, उपाध्यक्षमा सुरेशकुमार कार्की र गंगा सुवेदी, सचिवमा शान्तिराम तिम्सिना, सहसचिवमा अर्जुनकुमार श्रेष्ठ र कोषाध्यक्षमा तोयानाथ ढकाल रहेका छन् । तत्काल जयभगवती वचत तथा ऋण सहकारीका नामबाट प्रक्रिया मिलाइसकेर पथरीशनिश्चरे सहकारी नामाकरण गरिने सहमति भएको छ ।
किर्तनको शेयर रकम ५८ लाख ८२ हजार ८ सय, तिरुपतिको शेयर रकम ८९ लाख ३६ हजार र जयभगवतीको १ करोड ६८ लाख ५ हजार २ सय रुपैयाँ रहेको छ । कुल एकीकृत पूँजीका रुपमा १६ करोड ९ लाख ८८ हजार ८ सय ४० रुपैयाँ २ पैसा रहेको विवरण उल्लेख छ ।
यसअघि नगरको वडा नम्वर ३ र आसपासका वचत तथा ऋण अन्तर्गतकै विरेन्द्रनगर, न्यू कञ्चन, शान्तिद्धिप र हरियालीबीच एकिकरण भएको थियो ।