उदयपुरको मैनामैनीमा सुँगुरको प्रतिमा निर्माण

विजय चाम्लिङ

साउन २२ गते, उदयपुर । उदयपुर स्थित बेलका नगरपालिका वडा नं ७ मैनामैनीमा सुँगुरको प्रतिमा निर्माण गरिएको छ ।

वडा नं ७ का वडाअध्यक्ष सुरेन्द्र राईका अनुसार ६२ लाख रुपैयाँको लागतमा सुँगुरको प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माण कार्य भने पूरा भएको छैन ।

किरात समुदायको संस्कृति र खानपानसँग जोडिएको सुँगुरको प्रतिमा निर्माण गरिएको सम्भवतः यो पहिलो हो । नगरपालिकाले भने बँदेलको रुपमा प्रतिमा निर्माण गरिएको जनाएको छ ।

‘किंवदन्ती अनुसार बराह भनेको बँदेल हो,’ वडाअध्यक्ष राईले भने, ‘नजिकै बराहक्षेत्र, त्रिवेणी र खुवालुङ जस्ता पर्यटकीय स्थल रहेकाले ती पर्यटकीय क्षेत्रहरुलाई जोड्नका लागि बँदेलको प्रतिमा निर्माण गरिएको हो ।’

नगर पर्यटन समितिबाट गत आर्थिक वर्ष बजेट छुट्याएर बँदेलको प्रतिमा निर्माण गरिएको उनले बताए ।

प्रदेश नं १ को धार्मिक पर्यटकीय स्थल मानिने बराहक्षेत्र सुनसरीस्थित बराहक्षेत्र नगरपालिकामा पर्दछ । बराहक्षेत्रमा बढीजसो हिन्दु धर्मावम्बीहरुले बराहको अवतारको रुपमा विष्णुको पुजा गर्ने गरेका छन् । बँदेल वा बनेललाई सामान्यतः जंगली सुँगुरको रुपमा बुझ्ने गरिन्छ ।

बेलका नगरपालिकाको वडा नं ७ मा ८७ प्रतिशत भन्दा बढी किरात राईहरुको बसोबास रहेकोले उक्त प्रतिमालाई किरातहरुको सांस्कृतिक बिम्ब वा प्रतिकको रुपमा पनि लिन सकिने वडाअध्यक्ष राईले बताए ।

किरात राई, लिम्बुहरुको बिहेकार्जे लगायत सांस्कृतिक परम्परा गर्दा सुँगुर अनिवार्य रुपमा प्रयोग गरिन्छ । सुँगुरको मासु किरातीहरुले सबभन्दा मन पर्ने मासु वा खान पनि हो । साल्पा अनलाइनबाट

सम्बन्धित खवर