मङ्लबार, असार ९, २०८३

नगर अस्पतालको स्थगित आकस्मिक सेवा पुनः सञ्चालन गर्ने निर्णय

९ असार, पथरी । पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्थगित आकस्मिक सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

पथरी नगर अस्पतालको सेवा प्रवाह र हाल उत्पन्न समस्याका विषयमा महत्वपूर्ण छलफल गर्दै स्थगित आकस्मिक सेवा पुनः सञ्चालन निर्णय गरेको हो ।

नगर अस्पताल प्रशासन, अस्पताल व्यवस्थापन समिति तथा नगर कार्यपालिकाको कार्यालयले आवश्यक व्यवस्थापकीय प्रक्रिया अघि बढाउने भएका छन् । मौजुदा कर्मचारीहरूमध्येबाट व्यवस्थापन मिलाउने तथा नगर अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको आवश्यकता अनुसार सरुवा वा समायोजन गरी सेवा दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पथरी नगर अस्पतालको सेवा बिना अवरोध सञ्चालन गर्न ऐक्यबद्धता जनाएका छन् । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा क्रियाशील सम्पूर्ण राजनीतिक दलहरूले अस्पतालको सहज र प्रभावकारी सञ्चालनका लागि निरन्तर सहयोग र प्रतिबद्धता जनाउने सामूहिक निर्णय समेत गरेका छन् ।

गरपालिकाको सभाहलमा सम्पन्न बैठकमा वडा नं. ७ निवासी ७७ वर्षीय दुर्गा बहादुर भुजेलको नगर अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा भएको निधनको घटनाबारे गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । गत जेठ २९ गतेको सर्वपक्षीय बैठकबाट गठन गरिएको उक्त समितिले घटना सम्बन्धी अध्ययनपछि तयार पारेको प्रतिवेदन बैठकमा पेश गर्दै आवश्यक जानकारी गराएको थियो ।

प्रतिवेदनमाथि छलफलपछि उपचार प्रक्रियामा संलग्न रहेका ३ जना कर्मचारीलाई हालका लागि कामकाजमा नलगाउने निर्णय गरिएको छ । घटनाको निष्पक्ष छानबिन तथा व्यवस्थापकीय सुधारका लागि उक्त निर्णय गरिएको जनाइएको छ ।
ती कर्मचारीलाई कामकाजबाट अलग गरिएपछि अस्पतालको आकस्मिक सेवा प्रभावित भएको थियो । कर्मचारी अभावका कारण आकस्मिक कक्षबाट प्रदान हुँदै आएको सेवा स्थगित हुँदा सेवाग्राहीहरूले समस्या भोग्नुपरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.