२२ जेठ, उर्लाबारी । उर्लाबारी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारका दिन पनि सञ्चालन गर्न निर्देशन दिएको छ । पालिकाले एक विज्ञप्ती प्रकाशन गर्दै आइतबार अतिरिक्त क्रियाकलापको लागि विद्यालय लगाउनुपर्ने जनाएको छ । आइतबारको दिन नियमित पठनपाठन भने हुने छैन ।
२०८३ जेठ १९ गते बसेको उर्लाबारी नगर कार्यपालिकाको बैठकले २०८३ असार १ गतेदेखि लागू हुने गरी आइतबार विद्यालय सञ्चालन गरी खेलकुद, सिर्जनात्मक तथा अन्य अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयबमोजिम शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि विद्यार्थीहरूको पठनपाठन तथा अतिरिक्त क्रियाकलापमा कमी आएको गुनासो प्राप्त भएपछि आइतबार अतिरिक्त क्रियाकलाप गर्न लागेको पालिकाले जनाएको छ ।
बालबालिकामा मोबाइल, टेलिभिजन लगायतका डिजिटल सामग्रीको अत्यधिक प्रयोग बढ्दै जाँदा मानसिक तथा सामाजिक रूपमा नकारात्मक प्रभाव परेको भन्दै अभिभावक तथा सरोकारवालाबाट आइतबार पनि लगाउने लिखित तथा मौखिक सुझावहरू आएको नगरपालिकाले जनाएको छ ।




