
दिनेश सुब्बा
९ असार, कानेपोखरी । मोरङको कानेपोखरी–२ दलेलीस्थित कानेपोखरी–रंगेली सडकखण्डमा प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न खाद्यान्न तथा उपभोग्य सामग्रीसहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
दक्षिण रंगेलीबजारबाट उत्तर तर्फ आउदै गरेको प्र.१–०२–००१ ख ४४४४ नम्बरको सेतो मिनी ट्रक चेकजाँचका क्रममा १३ लाख ७० हजार बराबरका अवैध सामान सहित मिनी ट्रक विहान ११ः३० बजे नियन्त्रणमा लिएको हो । रमाइलो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मिनि ट्रक र चालक सूर्यप्रसाद ओलीलाई नियन्त्रणमा राखेको छ ।
मिनी ट्रक र खाद्य सामाग्री रंगेली नगरपालिका –७ निवासी वर्ष ३२ को सौरभ राजगडीया रहेको प्रहरीले जनाएको छ । प्रहरीको बयान अनुसार रमाइलो, केरौन, होक्लाबारी, दलेली, बयरवन लगाएतको क्षेत्रमा भन्सार छली विक्री वितरण गर्दै आएको जनाएको छ ।
बरामद गरिएका सामानको अनुमानित मूल्य ३ लाख ७० हजार रुपैयाँ रहेको छ, भने मिनी ट्रकको मूल्य १० लाख रुपैयाँ आँकलन गरिएको छ । यससँगै बरामद सामान र सवारी साधनको कुल मूल्य १३ लाख ७० हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ ।
मिनि ट्रकमा लोड गरिएको खानेतेल, चामल, दाल, भुजिया, चिउरा, साबुन, अगरबत्ती, चुरोट, सुजी, आटा, चिनी, भुजा, चियारंङ, सोयाबिन, कालोदाल, पतन्जली साबुन, खानेतेल, रम्पम्प चाउचाउ, प्लाष्टिकको गिला र थाल, लिचि जुस, दूध पाउडर लगायत विभिन्न उपभोग्य सामग्री नियन्त्रणमा लिएको छ । बरामद सामान, चालक र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



