नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ

कात्र्तिक २४ गते, काठमाडौं । बैंककै कर्मचारीको मिलेमतोमा कतिसम्मको ठगी धन्दा चल्दोरहेछ भन्ने पछिल्लो उदाहरण हो, यो चाहीँ । चर्चित गायकको नामको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोडको कर्जा दिने बैंक हो, कुमारी बैंक ।

त्यसरी ठगी धन्दा चलाउने व्यक्ति को होला ? ठगी धन्दा चलाउने व्यक्ति पनि बैंककै कर्मचारी ! गायक योगेश्वर अमात्यले प्रहरीमा उजुरी हालेपछि बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को घेरामा रहेका उनीहरुमध्ये तीन जनालाई केही दिनअघि काठमाडौंबाट पक्राउ गरिएको थियो भने चौरसियालाई मंगलबार पक्राउ गरिएको छ ।

सीआईबीका अनुसार गायक अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको पाइएको छ ।

कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा ठगी धन्दा भएको फेला परेको छ । गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालिएको प्रमाण भेटिएको छ । जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली कागजात बनाउन सफल भएपछि ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालमा पत्राचार गरिएको भेटिएको छ भने केन्द्रीय बैंकले पनि सजिलै ऋण स्वीकृत गरिदिएको पनि अनुसन्धानमा प्रमाण फेला पारिएको छ ।

आफूलाई थाहै नपाई भित्रभित्रै यस्तो ठगी धन्दा चलेको थाहा पाएपछि गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको भन्दै एक महिनाअघि प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सीआईबीले यसबारे अनुसन्धान सुरू गरेको थियो। न्यूज२४बाट

सम्बन्धित खवर