माघ ८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका १५ किसानले निशुल्क लैनो भैँसी पाएका छन् ।
संघीय सरकारको दुध मिसन कार्यक्रम १ नम्बर प्रदेशको पथरीशनिश्चरे नगरमा परेको हो ।
पथरीशनिश्चरे–९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादन समूहमा आबद्ध किसानहरुले लैनो भैँसी, भैँसीको लागि राँगोको साथै च्याप्कटर (कुटी काट्ने मेशिन), चिलिङ्ग भ्याट (दुध चिस्याउने मेसिन), औषधी तथा तालिमसमेत पाएका छन् ।
समूहमा आबद्ध १५ किसानले लैनो भैँसी र एक परिवारले राँगो प्राप्त गरेका छन् । सात देखि १० लिटर दुध दिने भैँसी सरदरमा एक लाख २२ हजार भन्दा बढी परेको समूहका अध्यक्ष डिल्लिराम भट्टराईले बताए ।
समूहमा आबद्ध श्याम चौहान, प्रभुराम कार्की, ईश्वर चौहान, रुद्रबहादुर कार्की, निरन्जन मण्डल, रुद्रबहादुर दाहाल, दिलिपकुमार दाहाल, ख्यामबहादुर बुढाथोकी, देकेन्द्र चौहान, लक्ष्मी खत्री, संगीता कार्की, भोजबहादुर श्रेष्ठ, अभिकेशर चौहान, रेवत गिरी, धनराज धिमाल दुध लैनो भैँसी र राँगो रेवत गिरीले पाएका छन् । भैँसी पाउने पाँच परिवारले च्याप कटरसमेत पाएका छन् ।
किसानबाट आउने दुध चिसानको लागि ५ सय लिटरको चिलिङ्ग भ्याटसमेत राखिएको छ । भैँसी पालनको लागि तीन दिने तालिमको साथै औषधी उपचार समेत निशुल्क प्रदान गर्ने कार्यक्रम रहेको समूहका अध्यक्ष भट्टराईले बताए ।
दुध मिसन कार्यक्रम अन्तरगत नगरपालिकाले ७५ र समूहले २५ प्रतिशत गरी २५ लाख ८४ हजार बराबरको कार्यक्रम महेन्द्रचोक साना किसान कृषि उत्पादन समूहले सञ्चालन गरेको हो । जसमध्ये नगरपालिकाले १९ लाख ९४ हजार र समूहले ५ लाख ९० हजार लगानी परेको समूहका अध्यक्ष डिल्लिराम भट्टराईले बताए ।
तीन दिने तालिम बिहिबार समापन भएको हो । तालिममा नगरको पशुपंक्षी शाखाको प्रमुख हिमचन्द्र दाहाल र पर्बत साहाले दिएका थिए । तालिम समापन कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सभासदस्य कृष्णकुमारी राईले कृषकहरु यसरी पशुपालनमा आकार्षित भएमा विदेश गएर गुलामी गर्न नपर्ने बताए ।
कार्यक्रमको बिषेश अतिथि पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले दुध मिसन कार्यक्रमले अर्गेनिक नगर बन्न सहयोग पुग्ने बताए । दीर्घ रोगीहरुलाई फलफुल खान जीवनमा एक पटक १५ हजारको दरले प्रदान गर्दा एक करोड जाति खर्च भएको बताए । बिषदी युक्त खानाले दीर्घ रोगी बढ्दै गएकोले नगरपालिकालाई ओर्गानिक नगर बनाउन सबैको साथ सहयोग अवश्यक पर्ने प्रमुख राईले बताए ।
महेन्द्रचोक साना किसान कुषि समूहका अध्यक्ष डिल्लिराम भट्टराईले भैँसीपछि बाख्रा, गाई लगायतको कार्यक्रम ल्याउन पहल गर्ने बताए । अध्यक्ष भट्टराईले संस्था स्थापना र कार्यक्रमहरु ल्याउन संविधान सभा सदस्य चण्डीप्रसाद राईको महत्वपूर्ण भूमिका रहेको बताए ।
तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्यहरु मैनाकुमारी लिम्बू, गिता बिक, निर्मला गदाल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, तालिमको सहजकर्ताहरुलाई सम्मान पत्रले सम्मानको साथै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।