शनिबार, भदौ २८, २०८२

वडा नं. ८ मा ‘सक्षम छोरी’ कार्यक्रमः छोरीहरूको भविष्यका लागि मासिक ५ सय बचत

३१ साउन, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले सामाजिक सुरक्षाको क्षेत्रमा नयाँ कीर्तिमान स्थापना गर्दै “सक्षम छोरी” कार्यक्रम सुरु गरेको छ । वडाले गरेको यो कार्यक्रम नेपालमै पहिलो पटक सुरु भएको हो ।

यस कार्यक्रम अन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने माझी, थारू, धिमाल, मुसहर, दनुवार, भुजेल, राजबंशी र सतार समुदायका परिवारमा जन्मने छोरीहरूका लागि विशेष बचत योजना सुरु गरिएको नगरका प्रवक्ता तथा वडा अध्यक्ष नविन कार्कीले बताए ।

वडा कार्यालयले मासिक ५ सय रुपैयाँ बचत गरिदिनेछ भने छोरीका अभिभावकहरूले अनिवार्य रूपमा २ सय रुपैयाँ थप गर्नुपर्नेछ । पैसा यसरी मासिक ७ सय रुपैयाँका दरले बचत हुनेछ ।

पाँच वर्षको अवधिमा बचत गरिएको रकम निकाल्न नपाइने नियम छ । पाँच वर्षमा मासिक ७ सय रुपैयाँले ४२ हजार पुग्नेछ । यसमा बैंकको ब्याज समेत थप हुनेहुँदा छोरीहरूको शिक्षाका लागि पर्याप्त रकम जम्मा हुनेछ ।

विपन्न तथा सीमान्तकृत परिवारमा जन्मने छोरीहरूलाई विद्यालय शिक्षा लिन सहज होस् र शिक्षाबाट वञ्चित नहोस भन्ने हाम्रो मुख्य लक्ष्य रहेको अध्यक्ष कार्कीले बताए ।

उल्लेखित जाति समुदाय बाहेकका अन्य समुदायका हकमा अति विपन्न परिवार भएको गाउँले सर्जमिनका आधारमा पुष्टि गर्नुपर्नेछ । साथै सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको परिवारका हकमा लागू हुने बनाईको छ ।

दलित समुदायका हकमा दलित बालबालिकाहरूलाई नेपाल सरकारले नै भत्ता प्रदान गर्ने भएकाले दोहोरो सुविधा दिन नसकिने वडाले जनाएको छ ।

यस्ता कार्यक्रमले नेपालका अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिने र सामाजिक न्यायको दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.