आवासविहिन ६ परिवारलाई घर प्रदान गर्दै कानेपोखरी गाउँपालिका

विद्यानन्द चौधरी

असोज २ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत गाउँपालिका क्षेत्रभित्र आवासविहिन भएका परिवारलाई घर निर्माण गरी प्रदान गर्ने तयारी गरेको छ ।

वडा नं. २ स्थित प्रधान टोलमा गाउँपालिकाले खरिद गरेको जग्गामा निर्माण सम्पन्न भएको ६ घरमा आवासविहिन ६ परिवारलाई आवास प्रयोगको लागि प्रदान गर्ने तयारी गरेको हो । वडा नं. २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, वडा नं. ५ का कोपिला सार्की र डम्बर बहादुर माझीलाई आवास(घर) हस्तान्तर गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् । निर्मित आवासको आज गाउँपालिकाले हस्तान्तर गर्दैछ ।

वडामा निर्मित सामुहिक आवासमा आवासविहिन उनिहरुलाई उक्त निर्माण गरिएको आवास तत्काल प्रयोग गर्नका लागि उनिहरुलाई प्रदान गरिने गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले बताए । उक्त निर्माण गरिएको आवास कार्यक्रम गाउँपालिकाले भखरै १ सय दिन गाउँपालिकाले गरेको प्रगतीको विवरणमा प्रस्तुत गरिसकेको छ ।

उक्त आवास भोली एक कार्यक्रम विच हस्तान्तरण गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । उनिहरुले कालन्तरमा रकम आर्जन गरी आफ्नै जग्गा खरिद गरी घर बनाए त्यो आवास अन्य आवासविहिनलाई फेरी प्रयोग गर्न दिइने पालिकाले जनाएको छ । अन्य आवास(घर) क्रमश निर्माण गरी आवासविहिनलाई राखिने गाउँपालिका उपाध्यक्ष अधिकारीले बताए ।

पालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा जनता आवास कार्यक्रम अन्तरगत रकमले वडा नं. २ स्थित प्रधान टोलमा रहेको रुद्रबहादुर बस्नेतको १ विगाह १ कट्टा १२ धुर जग्गा खरिद गरेको थियो । उत्तरदक्षिण २० फुटे बाटोले छोएको र विजुलीको सुविधा भएको वडा नं. २ को वडा कार्यालयदेखि ७ सय मिटर पश्चिममा पर्ने जग्गा ५४ लाखमा खरिद गरेको उतिखेर वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । २०७४÷०७५ मा जनता आवास कार्यक्रम अन्तरगत ४० लाख रुपैया रकम छुटिएपनि नीतिगत व्यवस्थापन गर्न नसक्दा जग्गा खरिद गर्न सकेका थिएन ।

खोलाको धार र बाटोको छेउमा बस्ने जग्गा नभएको अहिले वडा नं. २ मा मात्र ४२ घर सुकुम्बासीको पहिचान भएको छ । जनता आवास भित्र बालबिकास केन्द्र र बृद्धाआश्रम पनि निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर