३१ असार, लेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितमा गत असार १० गते सम्पन्न १७ औँ नगरसभाबाट पारित भएको नीति, बजेट तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको हो ।
लेटाङ ५ स्थित रेस्क्यू सेन्टरको नवनिर्मित भवनमा नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रमको संक्षिप्त विशेषता र शीर्षकहरु बारे जानकारी गराउँदै बजेट सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिकाले गर्दै आएका कार्यक्रम, अभ्यास र अनुभवहरु बारे जानकारी गराउनुभयो । उहाँले नगरपालिकाले पछिल्लो समय सिमित श्रोत साधनका बाबजुद शिक्षा, सुशासन र स्वास्थ्यको क्षेत्रमा निकै सुधार गरेको पनि बताउनुभयो । एसइइको नजितामा उल्लेख्य सुधार आएको, नगर अस्पताल व्यवस्थित भएको, बेजुरुमा घटाएको र सँस्थागत मूल्यांकनमा सुधार गरेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लेटाङ नगरपालिका स्थानीय तहहरुमध्ये उदाहरणिय रहेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले स्थानीय सरकारले राम्रो काम गरेमा राजानीति परिवर्तन पनि स्थायी हुने भन्दै जनतामा असन्तुष्टि नआउने गरि काम गर्न आग्रह गर्नुभयो । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुशपालनमा बजेटले सम्बोधन गरेको भन्दै उहाँले आर्थिक अनुशासनमा पनि जोड दिएको महसुश गरेको बताउनुभयो ।
पूर्वसांसद घनश्याम खतिवडाले लेटाङ क्षेत्रको विकासले निकै गति लिएको भएपनि पर्याप्त भने नभएको बताउनुभयो । उहाँले आफू सांसद भएका बेला संसदलाई सम्बोधन गर्दै माग गरेका विकास निर्माणका कामहरु अघि बढेको समेत बताउनुभयो । आफुले माग गरे बमोजिम मदन भण्डारी राजमार्ग निर्माण भएको, उत्तर दक्षिण जोड्ने सडकहरु निर्माण हुँदै गरेको र तमोर चिसाङ डाइभर्सनको डीपीआर हुँदै गरेको भन्दै उहाँले विकास भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरेले नगर क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका योजना कार्यान्वयनको अवस्था राम्रो नभएको बताउँदै स्थानीय सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । यस्तै लेटाङ नगरपालिकाका पूर्वनगर प्रमुख शंकर राईले बजेट नीति तथा कार्यक्रम महत्वपूर्ण रहेको भन्दै सबै मिलेर सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले आफु नगर प्रमुख भएको समयमा निकै समस्या रहेको बताउँदै भौतिक संरचनाको अभाव, नीति नियम र अनुभवको कमी तथा कर्मचारीको अस्थिरता जस्ता समस्यासँग जुध्नु परेको बताउनुभयो ।
कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधिहरुको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता गोपाल नेपालीले बोल्नुभएको थियो । सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा आगमी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम पुस्तिका, नगर शिक्षा योजना, आर्थिक ऐन २०८२, विनियोजन ऐन २०८२, खेलकुद तथा स्काउट बुकलेट २०८२, न्यायिक समितिको प्रतिवेदन २०८२, सार्वजनिक लेखा समितिको प्रतिवेदन, योजना फरफारक प्रतिवेदन लगायत नगरपालिकाका विभिन्न प्रकाशनहरु पनि सार्वजनिक गरिएको थियो ।
सम्मान कार्यक्रम
कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने तथा सामाजिक योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको छ ।
नगरका उत्कृष्ट कृषकहरु, २०८१ को एसइइ परीक्षा र २०८१ को कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु, इनोभेटिभ शिक्षक, २०८१ को एसइइमा उत्कृष्ट नजिता ल्याउने विद्यालय, कक्षा ८ मा उत्कृष्ट नजिता ल्याउने विद्यालय, उत्कृष्ट कार्यसम्पादनमा प्रथम र दोश्रो हुने माध्यमिक र आधारभुत विद्यालय, प्रदेशको टीमबाट खेल्ने महिला भलिवल खेलाडी, प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक पाउने तेक्वन्दोका खेलाडी, वी डिभिजनमा खेल्ने फुटबल खेलाडीहरु, नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो ।
यस्तै वडा नम्बर ५ को वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गदन गर्ने जग्गादातालाई सम्मान गर्नुका साथै अवकास प्राप्त गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।