उत्कृष्ट विद्यार्थी र विद्यालयलाई कानेपोखरी गाउँपालिकाको सम्मान

३१ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सामुदायि विद्यालयलाई सम्मान, पुरस्कृत साथै प्राविधिक धारका विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरेको छ ।

सोमबार कानेपोखरी गाउँपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी २०८१ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । कानेपोखरी गाउँपालिकाको ‘प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी’ कार्यक्रम अन्तर्गत पालिका भरिका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई जनही नगद २७ हजार ५ सय रुपैयाँ छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो ।

त्यस्तै छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउने शिक्षक र कर्मचारीहरुलाई पनि नगद सहित ३० जनालाई सम्मान गरिएको थियो ।
यस्तै कानेपोखरी गाउँपालिका स्तरिय आधारभूत शिक्षा (कक्षा ५ र ८) उत्तीर्ण परीक्षामा सामुदायिक विद्यालयतर्फ पालिका प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको गरिएको थियो । पालिका प्रथम हुने कक्षा ८ का सुदर्शन निरौलालाई १० हजार, द्वितीय सरिना धिमाल ७ हजार र कक्षा ५ तर्फ सृष्टि राई प्रथम ५ हजार र द्वितीय ममता भट्टराई ३ हजार प्रदान गरिएको थियो ।

त्यस्तै २०८१ को एसईईमा सामुदायिक विद्यालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । सिंहदेवि माध्यमिक विद्यालयकी छात्रा आराधना कार्की प्रथम २५ हजार र जनसेवा माध्यमिक विद्यालयका आर्यन आचार्य द्वितीय २० हजार प्रदान गरिएको थियो ।

त्यस्तै एसईईमा राम्रो नतिजा ल्याउने विद्यालय प्रथम शिक्षासदन माध्यमिक विद्यालय, कानेपोखरी–३ लाई ३० हजार र द्धितीय सिंहदेवि माध्यमिक विद्यालय, कानेपोखरी–५ लाई २० हजार राशी र प्रमाण पत्रले सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकिय अधिकृत हिराकुमारी यादवले पुरस्कृत तथा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले पालिकाले शिक्षालाई उच्च स्थानमा पुर्याउनलाई ठुलो लगानी गरेको बताउनुभयो ।उहाँले पालिकाले शिक्षामा स–सानादेखि ठुला कक्षासमेत लाभान्वित हुने कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको पुर्वाधारतर्फ पनि बृहत लगानी गरिरहेको जनाउनुभयो । उहाँले अर्को वर्ष अझ शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शिक्षामा सुधार ल्याउन पालिका व्यापक लागिपरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि नै अहिले विद्यालय मर्जको अवधारणामा पालिका अघि बढेको समेत जोड दिनुभयो । उहाँले पालिकाले लगानीको स्तरमा वृद्धि गर्दै थप शिक्षामा लगानी गर्न पछि नपर्ने बताउनुभयो । उत्कृष्ट विद्यार्थी, विद्यालय सबैलाई शुभकामनासहित अन्य विद्यालयलाईसमेत यस खाले नतिजा ल्याउन लागि पर्न सुझाव राख्नुभयो ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले पालिकाको सामुदायिक विद्यालय सुधारमा सबै पक्ष एकजुट भएर लागि पर्न सुझाव दिनुभयो । उहाँले विद्यालयमा अनावश्यक विषयमा टिकाटिप्पणी गर्दै विद्यालयलाई हानीनोक्सानी हुने काम नगर्न अनुरोध गर्नुभयो । सबैजना एकजुट भएर लागिपरे मात्र सामुदायिक विद्यालयको उन्नती प्रगतिहुने भन्दै वहाँले शिक्षामा आगामी वर्षमा अझ बजेटको सिमा बढाउने बताउनुभयो ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामज्यूको अध्यक्षतामा उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको उपस्थितमा कार्यक्रम समापन भएको थियो । कार्यक्रम संचालन शिक्षा साखा प्रमुख चूडामणि रेग्मीले गर्नुभएको थियो ।

सम्बन्धित खवर