पूर्वगृहमन्त्री खाणलाई पक्राउ गर्ने निष्कर्षमा किन पुग्यो प्रहरी

युनिक श्रेष्ठ
बैशाख २७, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ ।

‘पछिल्लो समयमा उनकै नेतृत्वमा यो प्रकरण अघि बढाइएको र पैसाको लेनदेनसमेत गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो,’ स्रोतले भन्यो ।

खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बतायो ।

प्रहरीले गृहसचिव पाण्डेसँग विभिन्न चरणमा सोधपुछ गरिरहेको थियो । पछिल्लो पटक उच्च प्रहरी नेतृत्वसामु पाण्डेले पूर्वगृहमन्त्री खाणको संलग्नता स्वीकार गरेका थिए । पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत बयान दिइसकेका छन् ।

पाण्डेले प्रहरी र सरकारी वकिलसमक्ष सुरूमा इन्कारी बयान दिएका थिए । प्रहरीले पाण्डेले पैसा लिएको प्रमाण देखाएपछि भने उनी गलेका थिए । सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो । अन्ततः उनले खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएका छन् ।

सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो । अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो । प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो ।

फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक–पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि थिए ।

कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ । त्यसरी लेनदेन गर्नमा खाणकै पिए नरेन्द्र केसीको पनि ठूलो भूमिका देखिएको प्रहरी स्रोत बताउँछ । केसीलाई पनि प्रहरीले आज खाणसँगै उनकै निवासबाट पक्राउ गरेको छ । चितवनको शारदा माविका प्रधानाध्यापक केसी योभन्दा अघि पनि पटक–पटक खाण मन्त्री हुँदा उनको पिए बनेका थिए । यसरी उनीहरूबीच लामो सम्बन्ध देखिन्छ ।

‘यो प्रकरणमा खाणको पनि ठूलो भूमिका देखिएको छ । गृहमा हुँदा उनैले धेरै रकम बुझेको देखिन्छ,’ स्रोतले भन्यो,‘ दुबै जनाविरूद्ध हामीसँग पर्याप्त प्रमाण छन् ।’

खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ । प्रहरीले सक्कली र नक्कली दुबै प्रतिवेदन प्राप्त गरेको छ र तिनै कागजात भिडाएर प्रमाणित गरेको बताएको छ ।

प्रहरीलाई दिएको जाहेरीमा पीडितहरूले एउटा आधा घन्टाको अडिओ पनि बुझाएका छन् । उक्त अडिओमा पीडितले खाणको घरमा गएर ६ करोड रुपैयाँ बुझाएको उल्लेख छ । खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड र नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडिओमा उल्लेख छ ।

अडिओमा भनिएको छ, ‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा । हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो ।’

उक्त संवाद पीडित र बिचौलियाबीच भएको थियो । बिचौलिया हाल पनि हिरासतमै छन् । उक्त अडिओबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । अनुसन्धानकै क्रममा प्रहरीले एक जना तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा कैयन अनधिकृत काम गर्न ती सिडिओलाई खाण र पाण्डेले दबाब दिएका थिए । नमानेपछि उनको सरूवा गरिएको थियो । ती सिडिओले आफूलाई अनधिकृत काम गर्न दिएको दबाबलगायत विषयमा बयान दिएका छन् ।

भुटानी शरणार्थी पहिचान गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठमा कार्यदल बनाएको थियो । गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म पनि गोप्य नै छ । तर बिचौलियाले उच्च राजनीतिक व्यक्तिहरूबाट प्रतिवेदन प्राप्त गरेका थिए ।

प्रतिवेदन प्राप्त गरेपछि बिचौलियाहरूले आफूखुसी नक्कली भुटानी शरणार्थीको नाम थप गरेका थिए । आफूहरूको गृह मन्त्रालयसम्म चिनजान रहेको भन्दै उनीहरूले झापा, दाङ, मोरङलगायत जिल्लाका मानिसहरूसँग भेटेका थिए ।

निवेदन दर्ता गर्न लगाएर बिचौलियाहरूले पछि प्रतिवेदनमै ती नक्कली शरणार्थीको नाम राखेका थिए । त्यसरी नाम राखेर उनीहरूले करोडौं रकम असुल गरेको देखिएको हो ।

अनुसन्धानका लागि प्रहरीले सक्कल प्रतिवदेन उपलब्ध गराउन गृह मन्त्रालयमा पत्राचार गरेको थियो । गृहले दिएको र बिचौलियासँग भएको प्रतिवेदन प्रहरीले भिडाएर हेरेको थियो । दुबै प्रतिवेदन हेर्दा उनीहरूले छेडखानी गरेको देखिएको स्रोतले बतायो ।

प्रहरीले अहिलेसम्म यस प्रकरणमा खाण र उनका पिए केसीसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

खाण र उनका पिए केसीलाई भने बुधबार बिहान मात्रै खाणको निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । उनी भाग्न सक्ने आशंका भएपछि प्रहरी बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित निवासमा पुगेको थियो ।

प्रहरी पुग्दा उनले सुरूमा कपडा लगाएर आउने बताएका थिए । तर उनी भित्र पसेपछि चुकुल लगाएर बसे । त्यसपछि प्रहरीले केही समय लगाएर उनलाई पक्राउ ग¥यो । अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेको छ । आजै काठमाडौं जिल्ला अदालतमा लगेर म्याद थप गर्ने पनि प्रहरीको तयारी छ ।

आफूलाई ठगेको भन्दै पीडितले २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । त्यतिबेला हालका आइजिपी बसन्तबहादुर कुँवर कार्यालय प्रमुख थिए । अनुसन्धान गरेको केही समयमै उनको बढुवा भएर सरूवा भएको थियो । त्यसपछि लामो समय अनुसन्धान रोकिएको थियो । तर केही महिनायता यसको अनुसन्धानले गति पाएको हो ।

यस्तै अनुसन्धानकै क्रममा प्रहरीले सुरूमै चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बयान लिने क्रममा सानु भण्डारीले पैसा बुझाएका व्यक्तिहरू सबैको नाम लिइदिए ।

नाम लिएपछि बयान रोक्न विभिन्न दबाबसमेत दिइएको थियो । तर भण्डारीले आफ्नो बयान जस्ताको तस्तै राख्नुपर्ने अड्डी कसेका थिए । जसक्रममा खाण लगायतको नाम आयो । उनले नाम लिएसँगै प्रहरी प्रमाण जुटाउन लाग्यो । अनुसन्धानको घेरामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई थिए ।

राईलाई वैशाख १९ गते ललितपुरबाट पक्राउ ग¥यो । त्यसपछि वैशाख २० गते पाण्डे पक्राउ परे । उपराष्ट्रपति कार्यालय बहालवाला सचिव उनी हाल निलम्बनमा छन् ।

गत बुधबार पक्राउ पुर्जी जारी भएका रायमाझी अझै फरार छन् । उनको खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली पनि खटिएको छ । उनी भारत भागेको आशंका प्रहरीको छ । यस्तै इन्द्रजितका छोरा निरज पनि फरार छन् ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको छ । यस कसूरमा प्रहरीले ६० दिनको म्याद पाउँछ । अब प्रहरीले १४ दिनभित्र अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ । सेटोपाटी

सम्बन्धित खवर