असार २५, पथरी । मोरङ पथरीशनिश्चरे–६ मा रहेको सुनदह साकोसको लाखौं रकम ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष, व्यवस्थापक र लेखा सहायकलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
सुनदह साकोसको अध्यक्ष वर्ष ४५ को लाल बहादुर भण्डारी, व्यवस्थापक वर्ष ४४ को राजेन्द्र तामाङ र लेखा सहायक वर्ष ४६ का विश्वनाथ चौधरी लाखाैं ठगी गरेको आरोपमा सोमाबार जिल्ला अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि जेल चलान गरेको हो ।
उनीहरुले सुनदह बचत तथा ऋण सहकारी संस्थाको नाममा बचतकर्ता र ऋणिहरुको ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी ठगी गरेको थियो ।
२५ जना पीडितहरुले मिति २०८० जेठ २८ गते इलाका प्रहरी कार्यालय पथरीमा ३३ लाख ६९ हजार ३ सय ५५ रुपैया ठगी गरेको भनी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो । त्यस पछि जाहेरी दिने पीडितहरु तारा खड्का सहित ९८ जना बचतकर्ताहरूको जम्मा ७४ लाख १९ हजार ८ सय ७ रुपैयाँ रकम हिनामिना गरी सहकारी संस्था बन्द गरेको इलाका प्रहरी कार्यालय पथरीमा पुगेको थियो ।