जेठ ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ मार्फत संकलित भूमिको लगतको कम्प्युटरमा प्रविष्टिकरण गर्ने कार्यले अहिले गति लिएको छ ।
नगरको वडा नम्बर १ को लगत प्रविष्टिकरण कार्य सम्पन्नको क्रममा पुगेको आयोगका नगर इकाई प्रमुख सरोज भट्टले जनाए । उनले वडा नम्बर १ को कुल १ हजार १ सयको संख्यामध्ये केहीको मात्र लगत प्रविष्टिकरण हुन वाँकी रहेको बताए । सफ्टवेयरको समस्याका कारण प्रविष्टिकरणमा ढिलाई भएको र हाल यसमा सुधार गरिदै लगिएकोले यसको गति बढेको उनले बताए ।
सफ्टवेयरमा समेटिएको ढाँचामा कतिपय अवस्थाले समय लाग्ने भएकाले हाल प्रविष्टिकरण गर्ने ४ जना कर्मचारी रहेको र आवश्यक अन्य संख्या थपेर यसलाई गति दिई नापीको प्रक्रियातर्फ जाने कार्यपालिका बैठकले निर्णय गरेको छ । नगरमा १० वटा वडामा गरी ९ हजार ८ सय २९ जनाको लगत संकलन भएको थियो ।