१३ फागुन, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका –७ स्थित लामाटोलीमा नागरिक आरोग्य सेवा केन्द्रको सेवा शुभारम्भ गरिएको छ ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ बुधबार सेवा शुभारम्भ गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सेवा केन्द्रको दीगो सञ्चालनका लागि नगरवासीहरूको सक्रिय सहयोग आवश्यक रहेको बताउनुभयो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सेवा केन्द्र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशनात्मक सुझावहरू राख्नुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले आरोग्य सेवा केन्द्र स्थापना गर्न आफूहरूले विशेष पहल गरेको उल्लेख गर्दै अब सम्पूर्ण नगरवासीहरूले सहज रूपमा स्वास्थ्य सेवा लिन पाउने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक देवकुमारी लम्साललाई सेवा प्रदान गर्दै केन्द्रको औपचारिक शुभारम्भ गरिएको थियो । साथै, दिपेन्द्रलाल कर्णले सेवा केन्द्रको आवश्यकता र महत्वबारे प्रस्तुति दिनुभएको थियो ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य सहित आरोग्य सेवा केन्द्रको उद्देश्य र सेवाबारे प्रष्ट पार्नुभएको थियो ।
जनस्वास्थ्य अधिकृत एकराज खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, वरिष्ठ जनस्वास्थ्य अधिकृत जगत मगर, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।



