मुख्य खबर

प्याराडाईज इङ्लिस स्कुलको २२ औं वार्षिकोत्सव सम्पन्न

९ फागुन, मोरङ । मोरङको पथरी शनिश्चरे–९ स्थित प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलको २२ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा नगरप्रमुख मोहन प्रसाद तुम्बापो प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तुम्बापोले विद्यालय शिक्षा पूरा गरेका कतिपय विद्यार्थीहरू सामान्य निवेदन लेख्न, सम्झौता तयार गर्न, भरपाई बनाउन वा साधारण कागजी प्रक्रिया पूरा गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था देखिएकोले यसलाई व्यवहारीकतामा जोडदिनुपर्ने बताए । उनले कागजी अध्ययनसँगै व्यवहारिक शिक्षालाई अनिवार्य रूपमा जोड्नुपर्छ । डिजिटल युगमा कम्प्युटर चलाउने सीप, डेटा सुरक्षित गर्ने तरिका र अनलाइन प्रणालीको प्रयोगजस्ता ज्ञान अत्यावश्यक रहेको बताए ।

प्रमुख अतिथि तुम्बापोबाट दीप प्रज्वलन गरी कार्यक्रम सुरु गरिएको थियो । सहप्रधानाध्यापक गोपालप्रसाद तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक शान्तिराम बरालले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका छात्राछात्रले सामुहिक र एकल सांस्कृतिक नृत्य प्रस्तुत गरी मनोरञ्जन दिएका थिए । विद्यालयकी छात्रा बबिसा चौलागाईले मन्तव्य राख्दै विद्यालयले प्रदान गरेको शिक्षाले आफ्नो भविष्य निर्माणमा सहयोग पुगेको बताइन् । प्रधानाध्यापक होमनाथ घिमिरेले विद्यालयका भावी योजना प्रस्तुत गर्दै गुणस्तरीय शिक्षामा विद्यालय प्रतिबद्ध रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, संस्थापक सेयर सदस्यहरू, विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक, स्थानीय व्यक्तित्व तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया