
१५ फागुन, पथरी । मोरङको पथरी शनिश्चरे नगरमा एमाले नगर कमिटीले वृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ ।
मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेद्वार इरन कुमार राईलाई विजयी गराउन घरदैलो पछि मोटरसाइकल र्यालीको आयोजना गरेको हो । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण, हाम्रो संकल्प समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ जनताको घरदैलोमा उम्मेद्वार पुर्याएर भोट मागेका छन् ।
नेसनल युथ फोर्स मोरङ जिल्ला प्रमुख किशन चाम्लिङ राईको कमाण्डमा उम्मेद्वार राई सहित सुरू भएको मोटरसाइकल र्याली पथरी शनिश्चरे–१ को मन्दिर लाइन हुुर्दै यलम्बर चौक, शनिश्चरे बजार, वडा नं. ८ को सोमबारे बजार, प्रदेश मार्ग हुँदै किर्तिपुर बजार, विष्णुचौक, बुद्धचौक, किराती चौक, सुन्दरी चौक, आइतबारे, वडा नं.–२ को देविगञ्ज हुँदै पथरी बजारस्थित जनआन्दोलन चौकमा पुगेर समापन गरिएको थियो ।
समापन पश्चात् आयोजित कोणसभामा नेताहरुले आगामी निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन सबैलाई आह्वान गरेका थिए । नगर कमिटी सचिव विरोज मगरका अनुसार र्यालीमा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको बताए ।
त्यस्तै विहिबार वडा नं. १ वडा कमिटीको आयोजनामा पथरी बजारमा घरदैलो कार्यक्रममा भएको थियो । उम्मेद्वार र नेता तथा कार्यकर्ताले स्थानीय बासिन्दासँग भेटघाट तथा मत माग्ने कार्य गरेका थिए । घरदैलो कार्यक्रमा ‘आयो एमाले आयो…’, ‘सही पनि एमाले मै पनि एमाले…’ लगायतका पार्टीका गीतमा उत्साही कार्यकर्ताहरु छमछमी नाचेका थिए । विहिबार भएको वडा नं. १ को घरदैलो कार्यक्रम पार्टी कार्यालय रत्नचौकमा आएर समापन गरिएको नेकपा एमाले वडा नं १ कमिटी अध्यक्ष कुलमणि गुरूङले जानकारी दिए ।
सो कार्यक्रममा वडा कमिटी, नगर कमिटीका पदाधिकारीहरू, स्थानीय नेताहरू तथा वडाका सक्रिय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियानका क्रममा उम्मेद्वार राईले विकास निर्माण, सुशासन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।




