शुक्रबार, फाल्गुन २९, २०८२

माझी समुदायले कालिकोशीमा मनाए ‘लदी पूजा तथा घाट पूजा’

२० फागुन, मोरङ । माझी समुदायको महान पर्व ‘लदी पूजा तथा घाट पूजा’ मोरङको कानेपोखरी–५ भौसाबारीस्थित कालीकोशी खोलामा सम्पन्न भएको छ ।

मंगलबार कानेपोखरी गाउँपालिका क्षेत्रका माझी समुदाय भेला भई दोस्रो पटक भव्य रूपमा घाट पूजा सम्पन्न गरेको हो । पूजामा कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका ९ वटा माझी समूह भेला भएका थिए । पूजा–आजा, सांस्कृतिक कार्यक्रम तथा सामूहिक सहभागितामार्फत समुदायबीच एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने लक्ष्य सहित ‘लदी पूजा तथा घाट पूजा’ गर्ने गरिन्छ ।

कार्यक्रमको आयोजना नेपाल माझी उत्थान संघ गाउँकार्य समिति कानेपोखरी, मोरङले गरेको थियो । संघका अध्यक्ष साउनी माझी, सचिव मनोज माझी र कोषाध्यक्ष सुस्मिता खत्री माझीको नेतृत्वमा कानेपोखरीमा गाउँपालिका क्षेत्रमा ‘लदी पूजा तथा घाट पूजा’ गरिन्दै आएको छ ।

यस अघि माझी समुदायले कोशी मा गई ‘लदी पूजा तथा घाट पूजा’ गर्ने गरेका थिए । तर खर्च धेरै लाग्ने र प्राकृतिक पूजक भएकोले प्राकृतिको जतै पनि पूजा गर्न मिल्ने भएकोले गत बर्षदेखि कानेपोखरी गाउँपालिकामै पूजा गर्न थालेको भोजवीर माझीले बताए ।

यस वर्ष चुनावी आचारसंहिताले छोएकोले सामान्य पूजा मात्र गरेकोले आगामी वर्ष भव्य गरिने नेपाल माझी उत्थान संघ गाउँकार्य समिति कानेपोखरीका अध्यक्ष साउनी माझीले बताइन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.