सनम रोक्का
फागुन ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेको छन ।
समूह ’ए’ बाट टेन नवोदय र शिखर एफसी साथै समूह ’बि’ बाट द रियल ब्रदर्श र न्यु स्टार एफसी समूहको विजेता र उपविजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेका हुन । खेल तालिकामा टेन नवोदय र द रियल ब्रदर्शले ७–७ अंक जोडेका छन् भने शिखर एफसी र न्यु स्टारले ६–६ अंक जोडेका छ्न ।
लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक मात्र जोड्दै बाहिरिएका हुन ।
आज सोमबार भएको खेल बराबरीमा सकिएको छ । द रियल ब्रदर्श र देविगन्ज एफसी बिच भएको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै गोल हुन नसके पछि बराबरीमा खेल समाप्त भएको थियो । खेल अवधीमा दुवै टिमले निकै राम्रा अवसरहरू पाए पनि गोल भने गर्न सकेनन् ।
खेलको म्यान अफ दि म्याच देविगन्ज एफसीका जर्सी नम्बर ५ का मन्जिल खड्का घोषित भए । खड्कालाई ट्रफी र मेडल सहित नगद तीन हजार कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लङका हङकङ अध्यक्ष त्रिभूवन लिम्बु, आयोजक समितिका अध्यक्ष संन्जीव गिरी र सदस्य दिपक पुलामीले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
भोली मंगलबार कुनै खेल छैन । बुधबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछ । पहिलो सेमिफाइनलको खेल समुह ’ए’ को विजेता टेन नवोदय र समूह ’बि’ को उपविजेता न्यु स्टार एफसीका बिच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले बताए । सेमीफाइनल खेल दिनको ठिक २ः३० बजेबाट सुरु हुने आयोजक समितिका सदस्य दिपक पुलामीले बताए ।