माघ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको शुक्रबार भएको खेलमा टेन नवोदय सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान सिटि फुटबल एकेडेमीलाई शुन्यको विरुद्ध १ गोल गर्दै टेन नवोदयले सेमिफाइनलमा प्रवेश गरेको हो । टेन नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रि किक मार्फत उत्कृष्ट गोल गरेको गोल नै निर्णाय बनेको थियो । खेलको म्यान अफ द म्याच टेन नवोदयका दिपक बान्तवा राई घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका थिए ।
शनिबार दोश्रो क्वाटरफाइनल खेल बिराटनगर फुटबल क्लब र दुधे फुटबल क्लब झापा बिच हुने आयोजकले बताएका छन् । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेता टिमले ५१ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल आयोजक समितिले जनाएको छ ।