पुस ७ गते, विराटनगर । आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ ।
बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर नागेश कोइरालाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–पूर्वमा रहेको खाली जग्गा सफाई सुरु गरेको छ । बजार क्षेत्रमा अन्य थुप्रै खाली जग्गा रहेका छन् । जसले वर्षाैंदेखि महानगरलाई करसमेत तिरेका छैनन् ।
“बजार एरियामा रहेका करोडौं मूल्यका जग्गा वर्षाैंदेखि प्रयोगविहीन रहेका छन् । जसले महानगरलाई कर पनि तिरेका छैनन्,” कोइरालाले भने, “त्यति मात्रै होइन खाली जग्गामा फोहोर थुपार्दा महानगरको सौन्दर्यतामा समेत ह्रास आएको छ ।” पुष्पलालचोकदेखि रोडशेषचोकको मुख्य भागमै थुप्रै खाली जमिन छन् । जहाँ आसपासको घरमा उत्पादन हुने फोहोर डम्पिङ गर्ने गरिएको छ । जसले गर्दा महानगरको सुन्दरतामा ह्रास मात्रै होइन वातावरणमा समेत असर परेको उनी बताउँछन् । “विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने सवालमा मेयर र उपमेयर साबबाट स्पष्ट निर्देशन छ । त्यसैअनुसार हामीले काम गरिरहेका छौं, प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ।”
महानगरकै सफाईका कर्मचारी र डोजर प्रयोग गरेर खाली जग्गा सफाई गर्न सुरु गरिएको छ । महानगरले सफा गर्न थालेपछि जग्गाधनीहरु सम्पर्कमा आउन थालेको उनले बताए । “उहाँहरुको व्यक्तिगत सम्पत्ति हो भन्दैमा बीच बजारमा फोहोर थुपार्न त दिनु भएन नि,” कोइरालाले भने, “सफा राखेर जग्गाधनीहरुले आफैं प्रयोग गर्नुहुन्छ भने हामीलाई केही भन्नु छैन । तर, बेवारिसे बनाएर फोहोर थुपार्ने थलो बनाउने र कर नतिर्ने हो भने महानगरले पार्किङका लागि प्रयोगमा ल्याउँछ ।”
बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङको व्यवस्थापन मिलाएर बजार क्षेत्रलाई व्यवस्थित बनाउने महानगरको योजना छ ।