पथरीशनिश्चरेमा मन्टेश्वरी तालिम समापन

बैशाख २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे ८ मा महिला लक्षित मन्टेश्वरी तालिम समापन भएको छ ।

विहिबार नगरपलिकाका मेयर मोहनप्रसाद तुम्बापो र उपाध्यक्ष देवी माया काफ्लेको उपस्थितमा मन्टेश्वरी तालिम समापन भएको हो । कार्यक्रममा नगरप्रमुख तुम्बापोले नगरपालिकाले विभिन्न किसिमको सीपमुलक तालिमहरु संचालन गरिरहेको भएतापनी लक्षित वर्गले त्यसबाट फाइदा लिन नसकिरहेको अवस्थामा आगामी दिनमा यसलाइ सुधार गरेर लैजाने बताएका छन । वडा नं. ८ ले जनताको हरेक समस्याहरूमा उपस्थित भएर जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेकोमा धन्यवाद समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले महिलालाई आत्मनिर्भर बन्न आफुलाई इच्छा लागेको बिषयमा तालिम लिने र तालिमलाई जीवन उपयोगी बनाउन लागि परेमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

वडाको चालू आर्थिक बर्षको कुल बजेट मध्ये महिला लक्षित बजेटबाट उक्त तालिम सम्पन्न भएको हो । तालिममा वडा भित्रका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षिकाहरु र ८ नं. वडाका अन्य गरी जम्मा २२ जनाको सहभागिता रहेको थियो ।

नगरउपप्रमुख देविमाया काफ्ले, वडा सदस्य बाबुराम चौधरी, दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम काफ्ले लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य शान्ता योङहाङ, शिवकुमारी बिश्वकर्मा, बुद्ध माबिका प्रधानाध्यापक बोद्यराज सिग्देल, मिलन आधारभूत विद्यालयका प्रधानाध्यापक कैलु नुनिया लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर