१२ चैत्र, मोरङ । मोरङको कानेपोखरी–५ स्थित फुटबल मैदान दक्षिणमा सवारी दुर्घटनामा एकजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५८ वर्षीय विरेन्द्र कार्की रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे १ ख ६३३९ नम्बरको टिफरले कार्कीलाई साइलकमा ठक्कर दिएको थियो । स्थानीयका अनुसार कार्कीले विहान नै मादक पदार्थ सेवन गरेका थिए । कामको लागि टिफर घरबाट लेटाङ तर्फ जानेक्रममा घटना भएको थियो । खेलमैदानको दक्षिणको सडकमा विपरीत दिशाबाट आएको साइकलमा सवार कार्कीलाई टिफरले साइकलको पछाडी छोएर हल्लाएर लडेको स्थानीयहरु बताउँछन् ।
मृतक कार्कीको शरिरमा कुनै चोटपटक भने नदेखिएकोले टिफरले साइकलमा छोएको हुन सक्ने वडा अध्यक्ष चरण गुरुङ बताउछन् ।
इलाका प्रहरी कार्यालय पथरीको प्रहरीको उपस्थितमा शवलाई पोस्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टर राखिएको छ ।
दुर्घटनामा संलग्न टिफर चालक २१ वर्षीय अभिषेक दर्जी र टिफरलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



