पथरीशनिश्चरे नगरमा पनि अस्पताल भवन शिलान्यास

मंसिर १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पनि नगर अस्पतालको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले नगर अस्पताल सञ्चालन भइरहेको वडा नम्बर २ मा अस्पताल भवनको शिलान्यास गरेको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले नगर अस्पतालको भवन निर्माणपछि नगरवासीको स्वास्थ्य सेवामा सहजता पुग्न सक्ने बताउँदै नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष ध्यान पुर्याइरहेको उल्लेख गरेका छन् ।

सो अवसरमा,राजनीतिक दलहरुका तर्फबाट मोहन तुम्वापो र टेकबहादुर थापा, जग्गादाताहरुका तर्फबाट बाबुराम राईले सवै पक्षको सहकार्यमा स्वास्थ्यको पहुँच सवैमा पुर्याउन लाग्नु पर्ने बताए ।

सामाजिक विकास समितिका अध्यक्ष कपिलमणि ढकालको स्वागत मन्तब्य, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यको संचालन र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, जग्गादाता, समाजसेवी सहितको उपस्थिति रहेको थियो । संघीय सरकारको १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल भवन बन्ने भएको हो ।

वडा नम्वर २ मा त्यसबेलाको स्वास्थ्य चौकी अर्थात हालको नगर अस्पतालको भवन निर्माणका लागि स्थानीयले करोडौंको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा खोजविन समिति संयोजक राईले ३ कठ्ठा, सुनेहाङ सवेहाङले ३ कठ्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १÷१ कठ्ठा गरी १० कठ्ठा जग्गा पहिलो चरणमा स्वास्थ्य चौकी हुँदा नै रजिष्ट्ेशन गरिदिएका थिए ।

पछिल्लो समयमा संयोजक राईले ९ कठ्ठा सवा २ धुर र श्रीनारायण ढकालले १० धुर जग्गा रजिष्ट्ेशन गरिदिँदा अस्पतालका लागि हालसम्म १९ कठ्ठा सवा १२ धुर जग्गा भएको छ । त्यसमध्ये संयोजक राईले पछिल्लो पटक ३ कठ्ठा थप गरिदिएको र बोलकवोल गरेका जग्गादाताले जग्गा रजिष्ट्ेशन नगरुञ्जेलसम्मका लागि उनले थप ६ कठ्ठा सवा २ धुर जग्गा हाल रजिष्ट्ेशन गरिदिएको हो ।

पथरी चोकबाट २ किलोमिटर दक्षिणमा स्वास्थ्य मन्त्रालयको वजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत १ करोड १४ लाखमा २ तले भवन निर्माण भई त्यहाँ स्वास्थ्य चौकी सञ्चालन भएपछि अस्पतालको प्रक्रियामा स्थानीय जग्गादाता जुटेका थिए ।

भूटानी शरणार्थी प्रभावित क्षेत्रका नाताले शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर)ले ८५ लाखको लागतमा अत्याधुनिक ल्याव सहितको भवन समेत निर्माण जारी राखेको छ । नगरपालिका कार्यालयले ४० लाख बढीको लागतमा एक्सरे, फार्मेसी सहितका लागि भवन निर्माण सम्पन्न गरेको छ ।

सम्बन्धित खवर