
११ चैत्र, मोरङ । मोरङको कानेपोखरी–७ स्थित चालिसबिघेमा ’शान्ता धागो घरेलु उद्योग’ ले केराको बोक्राबाट कागज र कम्पोष्ट मल उत्पादन गर्दै आएको छ ।
२०८१ मा स्थापना भएको उद्योगले केराको बोक्राबाट निकालीएको रेसाजस्तो सामग्रीलाई उपयोग गरी नेपाली हस्तनिर्मित कागज र कम्पोस्ट मल उत्पादन गर्दै आएको हो ।
सो उद्योगको कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारी र वडा न. ६ का वडा अध्यक्ष खड्ग बस्नेले आज अनुगमन गरेका थिए । उपाध्यक्ष अधिकारीले यस्ता उद्योगलाई गाउँपालिकाले प्रोत्साहन गर्नुपर्ने बताए ।
केराको बोट काटिसकेपछि त्यसको बोक्रा प्रायः खेर जाने गर्छ । तर यही केराको बोक्राबाट निकालिएको ’रेसा’ लाई मूल्यवान् बनाउने सोचका साथ शारदा खत्री दाहालले उद्योग सञ्चालन गरेको छ । उद्योगबाट स्थानीय स्रोत र सीपलाई प्रयोग गर्दै वातावरणमैत्री उत्पादन सुरु गरेको छ । जसले अहिले स्थानीय स्तरमै चर्चा बटुल्न थालेको छ ।
उद्योगमा उत्पादन हुने कागज पूर्ण रूपमा प्राकृतिक हुन्छ । रासायनिक पदार्थको प्रयोग न्यून हुने भएकाले यो कागज वातावरणमैत्री मात्र होइन, स्वास्थ्यका हिसाबले पनि सुरक्षित मानिन्छ ।
यस उद्योगले उत्पादनसँगै रोजगारी सिर्जनामा पनि योगदान दिएको छ । गाउँकै युवाहरुलाई काम दिँदै आएको उद्योगले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने छ । सानो लगानीबाट सुरु भएको यो प्रयास अहिले आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको देखिन्छ ।
शारदा दाहाल भन्छिन्, “हामीले आफ्नै वरिपरिको स्रोतलाई चिनेर प्रयोग गर्न सके धेरै सम्भावना छन् ।” उनका अनुसार आगामी दिनमा उत्पादन विस्तार गरी अझ धेरैलाई रोजगारी दिने योजना छ ।
फोहोर व्यवस्थापन, वातावरण संरक्षण र रोजगारी सिर्जना—यी तीनै पक्षलाई समेट्दै कानेपोखरीको यो घरेलु उद्योग उदाहरणीय बन्दै गएको छ ।



