८ चैत्र, पथरी । मोरङको पथरी शनिश्चरे ८ नम्बर वडाले विपन्न घरपरिवारलाई काठको खाट वितरण गरेको छ ।
वडाको वडा अध्यक्ष ‘मेरो साथी’ कार्यक्रममार्फत विपन्न परिवारलाई खाट वितरण गरेको हो । “जसको केही छैन, जसको कोही छैन, उसको जनप्रतिनिधि छौं” भन्ने नारा सहित वडा नम्बर ८ ले सञ्चालन गरेको “वडा अध्यक्ष मेरो साथी” कार्यक्रम अन्तर्गत वडाले विपन्न परिवारलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिदै आएको छ । सोही क्रममा बिश्वकर्मा टोलका टेकबहादुर लिम्बूको घरमा अनुगमन्को क्रममा सुत्नका लागि काठको खाटसमेत नभपछि लिम्बूलाई खाट प्रदान गरिएको छ ।
हालसम्म वडाभित्र १३ वटा घरमा सुत्ने खाट वितरण गरिसकिएको वडाध्यक्ष नवीन कार्कीले बताए । यस्तै, वडाभित्र अझै खाट अभावमा रहेका परिवारलाई सम्पर्कमा आउन अनुरोध समेत गरिएको छ ।
यसै कार्यक्रमअन्तर्गत खोप केन्द्रसम्म खोप लगाउन आउने आमा तथा शिशुका लागि सिटिसफारीमार्फत निःशुल्क यातायात व्यवस्थापन, वडाभित्रका बिपन्न विद्यार्थीहरुलाई विद्यालय शिक्षामा पठनपाठनको पुर्ण सामाग्री वितरण, बिरामी भइ अक्सिजन लगाउनुपर्ने नागरिकलाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने, रगत अभाब हुँदा आवश्यक रगत खोजिदिने र बिलका आधारमा आर्थिक सहयोग गर्ने, नगरपालिकाको सवबाहनले नभ्याएको समयमा अन्य साधन प्रयोग गर्दा लाग्ने खर्च ब्यबस्थापन, सर्पले टोकेर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च सहयोग गर्ने, अति बिपन्न सुत्केरी आमालाई पोषण सहयोग, अति बिपन्न परिवारमा अन्तिम काजकिरिया गर्न आर्थिक सहयोग गर्ने आदि जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका कार्यक्रम वडामार्फत गरिरहेका छन ।



