बुधबार, चैत्र ११, २०८२

६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसमा प्रभातफेरी सम्पन्न

८ चैत्र, मोरङ । ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा कानेपोखरी गाउँपालिकाको आयोजनामा प्रभातफेरी तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

“श्रम अनुसार विभेद होइन, सम्मान गरौँ” भन्ने मूल नारासहित आयोजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी रहनुभएको थियो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष रमेश राउत, वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, अन्य जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रम कानेपोखरी गाउँपालिका–४ नम्बर वडा कार्यालय परिसरबाट सुरु भई वरपरका क्षेत्रमा प्रभातफेरी गरिएको थियो । सहभागिहरूले जातीय विभेद तथा रंगभेद अन्त्य गर्नुपर्ने सन्देश बोकेका प्लेकार्ड तथा नारासहित जनचेतना फैलाएका थिए ।

कार्यक्रमको अन्त्यमा दीप प्रज्वलन गर्दै समानता, सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ ।

सोही कार्यक्रममा इनिशा विकको न्यायका लागि कानेपोखरीमा विरोध प्रदर्शन
इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कानेपोखरीमा विरोध प्रदर्शन गरिएको छ । नागरिक समाज कानेपोखरी मोरङको आयोजनामा उक्त प्रदर्शन हुने जनाइएको छ ।

प्रदर्शनमार्फत दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय दिन तथा यस्ता घटनाको अन्त्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइने उद्देश्य रहेको छ ।

स्थानीयवासी, युवायुवती तथा विभिन्न संघसंस्थाको सहभागितामा हुने उक्त प्रदर्शनमा शान्तिपूर्ण रूपमा आवाज उठाइने आयोजकले बताएका छन् । साथै, समाजमा बढ्दो हिंसा र अपराधविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.