८ चैत, लेटाङ । मोरङको लेटाङ क्षेत्रमा रहेको चिसाङ खोलामा अवैध रूपमा माछा मार्नेलाई नियन्त्रण गर्ने भएको छ । विद्युतिय करेन्ट र विष प्रयोग गरी माछा मार्ने गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न १५ सदस्यीय समिति गठन गरिएको छ ।
सो कार्य रोक्न कुल बहादुर वाजी र लोक बहादुर पाहिमको नेतृत्वमा समिति गठन भएको हो । समितिले चिसाङ खोलासहित आसपासका जलक्षेत्रमा निगरानी बढाउने, सूचना संकलन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ । करेन्ट र विष प्रयोगले माछा मात्र नभई अन्य जलचर र पारिस्थितिक प्रणालीमै गम्भीर असर पारिरहेको स्थानीयहरु बताउँछन् ।
समितिले निषेधित क्षेत्रमा वा अवैध तरिकाले माछा मारेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गराइने चेतावनी दिएको छ । अभियानलाई प्रभावकारी बनाउन लेटाङ–१ स्थित श्री साल बिसौनी सामुदायिक वन उपभोक्ता समूह र पञ्च कन्या सामुदायिक वन उपभोक्ता समूहले समेत सहकार्य गर्ने भएका छन् । खोलाका विभिन्न स्थानमा जनचेतनामूलक होडिङ बोर्ड राख्ने तयारी भइरहेको छ भने यस अभियानले चिसाङ खोलाको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।



