९ चैत्र, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाका कृषकहरू अब आफ्नो बालीनालीमा लागेको रोगको उपचार खोज्न टाढा धाइरहनु पर्ने छैन । गाउँपालिकाको कृषि विकास शाखाले कृषकको समस्यालाई सम्बोधन गर्न ७ वटै वडामा ‘बाली उपचार शिविर’ सञ्चालन गरिरहेको छ ।
खेतीपातीको सिजनमा देखिने विभिन्न रोग र किराका कारण चिन्तित बनेका किसानलाई राहत दिन गाउँपालिकाले चैत ५ गतेदेखि १२ गतेसम्म वडैपिच्छे प्राविधिक टोली खटाएर शिविरमार्फ उपचार गरिरहेको छ ।
बाली रोग मात्र होइन, माटोको पनि जाँच
यसपटकको शिविर केवल बालीको उपचारमा मात्र सीमित छैन । गत फागुन २६ गतेको सूचना अनुसार संकलन गरिएका माटोका नमूनाहरूको परीक्षण सेवा समेत यसै कार्यक्रममा उपलब्ध गरिएको छ । यसले किसानलाई आफ्नो माटोको स्वास्थ्य बुझ्न र सोही अनुसार मलखाद प्रयोग गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
कृषि प्राविधिकहरूले रोगको सही पहिचानका लागि कृषकहरूलाई खेतबारीबाट नमूना ल्याउँदा विशेष ध्यान दिन आग्रह गरेका थिए ।
तरकारी र खाद्यान्नः रोगी बोटको जरासहितको पुरै बोट ।
फलफूलः रोग लागेको डाँठसहितको पात ।
फलः किरा वा रोगले खाएका फलहरू ।
शिविर हुने स्थान
प्रत्येक वडामा बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुदै छ । चैत ५ गते, वडा नं. १ वडा कार्यालय भवन, चैत ६ गते, वडा नं. २ को वडाकार्यालय, चैत्र ८ गते, वडा नं. ३ को आधारभूत स्वास्थ्य चौकी, सलवले चोक र चैत्र ९ गते, वडा नं. ४ को मेहनती कृषि सहकारी, धम्कुवामा आज सम्पन्न भईसकेको छ ।
त्यस्तै चैत्र १० गते, वडा नं. ५ (राधाकृष्ण मन्दिर, छकमल टोल), चैत ११ गते, वडा नं. ६ (पुरानो आधारभूत स्वास्थ्य चौकी, विहिबारे), चैत १२ गते, वडा नं. ७ (शुक्रबारे, त्रिवेणी चोक) मा शिविर हुने गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवका अनुसार, गाउँपालिकाले कृषिमा आधुनिकीकरण र रोग नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । “हाम्रो लक्ष्य किसानको लगानी नखेरोस् र उत्पादन बढोस् भन्ने हो,“ उनले भनिन् ।



