विद्यानन्द चौधरी
माघ २६ गते, कानेपोखरी । मोरङ कानेपोखरी –४, गुरुङ डाँडा, मन्त्री चोकका एक दम्पतीले जग्गा विहिन आफ्ना ७ घरपरिवार छिमेकीलाई निःशुल्क जग्गा दिएका छन् ।
पति रुद्र बहादुर गुरुङ र पत्नी बैजन्ती माला गुरुङले आफ्नो घरबारीको छेउमा जम्मा १२ लाख पर्ने जग्गा निःशुल्क दिएको हो । स्थानीय अमृत लिम्बु, एगिन गुरुङ, सुनिल विश्वकर्मा, तारा विश्वकर्मा, उषा राई, स्वस्तिका राई र चन्द्र बहादुर राईलाई घर बस्ने जम्मा २ कट्ठा १ धुर जग्गा दिएका हुन । एगिन गुरुङले ९ धुरमा घर निर्माण गर्दै छ । त्यसैगरी अमृत लिम्बु, सुनिल विश्वकर्मा, तारा विश्वकर्मा, उषा राई, स्वस्तिका राई र चन्द्र बहादुर राईले १ कट्टा १२ धुरको एकै पलटमा घर बनाउँदै गरेको जग्गादाता बैजन्ती माला गुरुङले बताइन् । जग्गा पाएपछि सवै खुशी भएका छन् ।
जग्गा प्राप्त गर्ने केही आफ्न्तकोमा, केही कोठा भाडामा बस्दै आएका थिए । जग्गा नापजाँच गरी मंगलबार सवैलाई छुट्याई दिएका छन् । सो बसोबासलाई रमाइलो चोकबाट लगभग तीन किलोमिटर पूर्व रमाइलो–मुलगाउँ जोड्ने सडकले छोएको छ । सो सडकबाट घरदेखी दक्षिण नयाँ सडक खोली सडकमै बस्ती बसाएको हो । जग्गा नभएको र उनिहरुको परिवार धेरै पीडामा रहेकोले आफ्नो आँखै अगाडी त्यस्तो पीडा देख्न नसकेर परिवारको सल्लाहमा जग्गा दिएको बैजन्ती माला गुरुङले बताइन् ।
त्यसैगरी जग्गा हुने तर घर बनाउन नसक्ने टेक बहादुर विश्वकर्मा र डम्बरमान विश्वकर्माको पनि गुरुङ परिवारले घर निर्माण गरिदिने उद्घोष गरेका छन् । जग्गा प्राप्त गरेपनि घर बनाउन नसक्ने र जग्गा हुने तर घर बनाउन नसक्ने लाई स्थानीय सरकारसँग माग गरी जग्गा निर्माण गरिदिने पनि बताइन् । वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले जग्गा प्राप्त गर्ने केहीलाई जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणको प्रक्रिया अघि बढाउने बताए । अध्यक्ष बस्नेतले गुरुङ परिवारले समाजमा गरेको योगदान कसैले भुल्न नसक्ने बताए ।
बैजन्ती माला गुरुङ सो गाउँमा धेरै पुरानो बसोबासी हुन । त्यहाँ बसोबास देखी नै समाजको अगुवा भएर समाज सेवामा लागेर काम गरेका धेरै उदाहरणहरु छन् । गुरुङले आफ्नो गाउँमा बस्ती बसाउने अभियान नै गरेर अहिले बाक्लो बस्ती भएको छ । गरिव तथा विपन्न परिवारलाई आर्थिक सहयोग देखी सामाजिक सहयोग गर्दै आएका थिए । घर जग्गा तथा सारा सम्पती यहाँ भएपनि पछिल्लो समयमा बैजन्ती माला गुरुङ परिवार सुनसरीको इटहरीमा बसोबास गर्दै आएका छन् । कहिले काही आएर बस्ने घर, खेतीबारी रेखदेख गर्ने गरेका छन् ।