एमाले प्रदेश सदस्य रामकुमार बस्नेतलाई पार्टीबाट निस्कासित

पुस १५ गते, पथरी । नेकपा(एमाले) मोरङ पार्टीले पार्टी सदस्यता समेत नरहने गरी रामकुमार बस्नेतलाई निस्कासन गरेको छ । पथरीशनिश्चरे –१, पथरी घर भएका बस्नेत एमाले प्रदेश सदस्य रहेका थिए ।

बस्नेतलाई बुधबार बसेको एमाले मोरङको पाँचौं पूर्ण बैठकबाट पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको व्यहोरा अनुमोदन गराएको हो । बैठकले प्रदेश र संघीय निर्वाचनमा समयमा पार्टी विरोधी कार्य गरेका तथा पार्टीका उम्मेदवार हराउन गतिविधि गरेको भन्दै कारबाही गरेको जनाइएको छ ।

प्रदेश सदस्य बस्नेतसँगै प्रदेश सदस्यहरु प्रताब कुमार थापा, मद्यु गुरुङ, राजकुमार बस्नेत र जिल्ला सचिवालय सदस्य गीता सिवाले पनि सामूहिक राजिना दिएर प्रदेश र संघीय चुनावमा एमाले विरुद्ध गतिविधि तिव्र बनाएका थिए । उनीहरुलाई भने कारबाही गर्ने वा नगर्ने भन्ने बारेमा छलफल भईरहेको पार्टी जिल्ला स्रोलले जनाएको छ ।

बस्नेतसँगै जिल्ला पार्टी सचिव रुपेश खतिवडा, प्रतिनिधिसभाका वर्तमान सांसद योगेन्द्र मण्डल र प्रदेशसभाकी पूर्व सांसद बसन्तीदेवी यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

अध्यक्ष पोखरेलले अन्य जिल्लामा घर ठेगाना भएर निर्वाचनको समयमा मोरङमा आएर अरू पार्टीका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने पार्टी सदस्यहरूको नामावली तयार पारेर कारबाहीका लागि सम्बन्धित जिल्लामा सिफारिस गरिने बैठकमा घोषणा गरेका थिए । उनले पार्टीको विधानको धारा ८० बमोजिमको अनुशासन उल्लंघन गरेको भन्दै धारा ८१ को उपधारा १, २, ३, ४ र ५ बमोजिम पार्टी सदस्यता नरहने गरी कारबाही गरेको निर्णय बैठकमा अनुमोदन गराएका हुन् ।

बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय थप छलफल गर्दै निर्वाचनको समीक्षा प्रतिवेदन माघ १५ गतेभित्र जिल्ला कमिटीलाई बुझाउन निर्देशन दिएको छ । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय कमिटी सदस्यहरू जीवन घिमिरे, विनोद ढकाल, रामलाल साह र युवराज बाँस्कोटालगायत उपस्थितिमा उक्त निर्णयहरू भएको जनाइएको छ ।

सम्बन्धित खवर