भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै

युनिक श्रेष्ठ

बैशाख २४, काठ्माडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ ।

प्रहरी उच्च स्रोतका अनुसार उक्त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ । अहिले सार्वजनिक भएकोभन्दा लामो अडिओ आफूकहाँ आएको प्रहरी स्रोतले बताएको छ ।

‘हामीसँग सो अडिओको ३० मिनेट लामो वार्ता सुरक्षित छ,’ स्रोतले भन्यो । उक्त अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो ।

‘अनुसन्धान जारी छ, अहिले नै केही भन्न मिल्दैन,’ स्रोतले भन्यो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेका छन्, जसमा एक सय बढी पीडित छन् ।

सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ । खाण पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी पत्नी हुन् ।

सांसद खाणको सचिवालयले सामाजिक सञ्जालमा आइरहेका अडिओ झुटो भएको दाबी गरेको छ ।

‘नचाहिँदो अडिओ सामाजिक सञ्जालमा आइरहेको छ, यस्तो अडिओ प्रयोग गर्ने दर्ता नभएका अनलाइनविरूद्ध कारबाही गर्न माग गर्दै प्रेस काउन्सिललाई पनि पत्र लेखिसकेका छौं,’ सांसद मन्जुका सहयोगी सन्तोष थापाले भने ।

उनले नक्कली भुटानी शरणार्थीबारे सांसद खाणलाई सरोकार नै नभएको बताए ।

‘सरोकार नै नभएको कुराबारे सामाजिक सञ्जालमा आउनु बेकारको कुरा हो । उहाँलाई यसबारे जानकारी छैन, थाहा छैन,’ खाणको सचिवालयका तर्फबाट कुरा राख्दै थापाले भने ।

अडिओमा पीडितले काम हुनै लाग्दा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको भन्दै गुनासो गरिरहेको सुनिन्छ । गिरोहले आफूहरूलाई दुहुनो गाई बनाएको गुनासो उक्त कुराकानीमा सुनिन्छ ।

‘काम सकिनै आँट्यो आखिरमा सिडिओको सरूवा गरिदिन्छ । ल काम हुन लाग्यो भन्यो सरूवा हुन्छ । पर्सिदेखि काम सुरू भन्यो झ्याम्म पारेर खायो सिडिओ सरूवा गरिदिन्छ । कति सरूवा ग¥या भन्या । नियतवश हो नि त दाई । के काम हुन्छ रातारात सरूवा गरिदिने । दुहुनो गाई हामी त,’ पीडितले भनेका छन् ।

यसरी पीडितले गुनासो गरिरहँदा गिरोहका व्यक्तिले भने आफूले सबै मिलाइदिने र मिडियाहरूसँग समेत कुराकानी गरेको बताएका छन् ।

‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा । हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो,’ पीडितले भनेका छन् ।

यो अडिओबारे प्रतिक्रिया लिन हामीले सांसद आरजु देउवा राणासँग सम्पर्क गर्न खोजेका थियौं । उनको मोबाइलमा सम्पर्क हुन सकेन । आज बसेको प्रतिनिधि सभा बैठकमा भने सांसद राणाले यस विषयमा बोलेकी छन् ।

संसदमा उनले भनिन– भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति गम्भीर छौं भन्ने मेरो ठूलो प्रश्न छ । म नभएको दिनमा मेरो नामलाई इगिंत गरेर अनेकथरि प्रश्न उठेको छ र आज पनि प्रश्न उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाष्य मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्ने । त्योभन्दा अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई त्यो असह्य हुने । योचाहिँ परिस्थिति बनेको छ । जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणले शनिबार एक विज्ञप्ति जारी गर्दै आफू यस घटनामा संलग्न नभएको बताएका थिए ।

यस प्रकरणको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौंले गरिरहेको छ । प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ । जसमध्ये केही उच्च पदस्थसँग सम्बन्धित व्यक्तिहरू समेत छन् ।

पीडितहरूले सुरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले सुरूमा चैत १२ तीन जनालाई पक्राउ गरेको थियो ।

सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, सन्देश शर्मा र सागर राई छन् ।

प्रहरीले यस घटनाको अनुसन्धान गर्न सांसद टोपबहादुर रायमाझी, बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरालगायत विरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ ।

गिरोहले प्रत्येक पीडितबाट ५ देखि ५० लाख रुपैयाँसम्म उठाएर करोडौं रकम असुल गरेको प्रहरीले बताएको छ ।

भुटानी शरणार्थीको पहिचान गर्ने भन्दै गृह मन्त्रालयले २०७६ साल जेठमा मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो । कार्यदलले मन्त्रालयमा प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरेको भने छैन ।

त्यही प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीहरूको नाम उल्लेख गरी अनुसूचीसमेत थप गरिएको अनुसन्धानमा देखिएको छ । प्रतिवेदनमा ८ सय बढीको नाम उल्लेख गरिएको छ ।

प्रहरीले अहिले ठगी एवं संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ ।

सेतोपाटी

सम्बन्धित खवर