२३ कात्र्तिक, मोरङ । दोस्रो इन्ट्र अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकपको उपाधि सलहेश सिरहा युवा क्लबले हात पारेको छ ।
मोरङको पथरी शनिश्चरे नगरमा शनिबार सम्पन्न फाइनलमा आयोजक पथरी ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै सलहेश सिरहाले उपाधि हात पारेको हो ।
उपाधि हात पारेसँगै प्रतियोगिताको विजेता सलहेशले नगद ५ लाख, ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार पाएका थिए भने उपविजेता पथरी ११ ले २ लाख ५० हजार, ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरे ।
खेलको १९ औं मिनेटमा पथरी ११ का धिरेन क्षेत्रीले पेनाल्टीमार्फत गोल गरेका थिए । सलहेश सिरहाका करिम ओमोलोजाले निरज परियारलाई डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टिमा गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता लिएको आयोजक टिममाथि दोस्रो हाफमा मैदान सलहेशको हाबी बन्यो । ५८ औं मिनेटमा जय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
खेलको ६९ औं मिनेटमा समिर तामाङले अर्को गोल थपेपछि खेलको अन्तिम समयसम्म २–१ को अग्रता जोगाउँदै सलहेश च्याम्पियनसिप बनेको हो ।
खेलको म्यान अफ दि म्याचा सलहेशका जय गुरुङ घोषित भएका थिए । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पथरी ११ का युकेश तामाङ घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । सलहेशका रेवट चौधरी उत्कृष्ट गोलरक्षक, रिजर्ड वईसन सर्वाधिक गोलकर्ता, राजीव यादव उत्कृष्ट प्रशिक्षक घोषित भए । पथरीका संजय लिम्बु उत्कृष्ट मिडफिल्डर, धिरेन क्षेत्री उत्कृष्ट डिफेन्स घोषित भए भने गोलरक्षक समिर क्षेत्री उदयमान खेलाडी घोषित भए । विधागत उत्कृष्ट सबैले जनही नगद १०÷१० हजार रुपैयाँ प्राप्त गरे ।
विजेता, उपविजेता साथै विद्यागत पुरस्कार पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापोले प्रदान गरेका थिए । खेल कात्र्तिक १५ गतेबाट सुरु भएको थियो ।



