शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले गरे आन्दोलनको घोषणा

साउन २४, काठमाडौं । मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारी गरिएको शिक्षा विधेयकका केही व्यवस्थाको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् ।

प्याब्सन, नेसनल प्याब्सन र हिसानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकारवालाहरूसँग छलफलबिनै विधेयक ल्याइएको भन्दै आन्दोलनका सार्वजनिक गरेका हुन् ।

नेसनल प्याब्सन अध्यक्ष पाण्डब हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल र प्याब्सन अध्यक्ष डीके ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरूले साउन २४ गते सबै पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा समन्वय इकाइ र सबै प्रदेशमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएका छन् ।

साउन २५ गते शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गर्ने, साउन २६ गते सरोकारवालाहरूसँग अन्तकक्रिया गर्ने र साउन २७ गते समीक्षा गर्ने आन्दोलनका कार्यक्रम छन्।

सरकारले साउन २७ गतेसम्म पनि वार्ताका लागि बोलाएन र विधेयक संशोधन गर्ने लिखित प्रतिबद्धता गरेन भने साउन २८ गतेदेखि विद्यालय अनिश्चितकालीन बन्द गरिने उनीहरूले बताएका छन् ।

शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामुलक हुने उल्लेख छ। यो व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन् ।

सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो । त्यसबेला निजी विद्यालय कम्पनीमा दर्ता भएका थिए। कम्पनीमा दर्ता भएका ती विद्यालय शिक्षा विधेयकअनुसार अब गुठीअन्तर्गत चलाउने प्रस्ताव भएपछि विरोध भएको हो ।

निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी सरकारले विधेयक ल्याएको आरोप निजी विद्यालय सञ्चालकहरूको छ।

 

सम्बन्धित खवर