लोकेन्द्र शाश्य
११ जेष्ठ, धरान । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजासँगै मुलुकभर कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिने क्रम चलिरहेको छ । यसै क्रममा पूर्वी पहाडी जिल्लाहरू धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ तथा तराईका झापा, मोरङ, सिराहा, सप्तरी र सुनसरीकै विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूको आकर्षक गन्तव्य अर्थात् ‘साइन्स हब’ का रूपमा धरानको पब्लिक हाई स्कूल स्थापित हुँदै गएको छ ।
सरकारी अनुदानबाट निर्माण भएका सुविधासम्पन्न भवन, प्रयोगात्मक सिकाइका लागि पर्याप्त ल्याब उपकरण तथा अन्य भौतिक सुविधाहरू विद्यालयमा उपलब्ध रहेको प्रधानाध्यापक डा. इन्द्रमोहन झाले बताउनुभयो । विद्यालय प्रशासनका अनुसार बुधबार लिइएको प्रवेश परीक्षामा विज्ञान विषयतर्फ मात्रै करिब दुई सयको हाराहारीमा विद्यार्थीहरू सहभागी भएका छन् ।
विद्यालयले देशका जुनसुकै जिल्लाबाट एसईईमा ३.६ वा सोभन्दा माथि जीपीए ल्याउने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको छ । यसैगरी, प्रवेश परीक्षाको नतिजाका आधारमा भर्ना हुने उत्कृष्ट १०० जना विद्यार्थीलाई विद्यालयका तर्फबाट निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।
विद्यालयका सूचनाहरू पब्लिक हाई स्कूलकै आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने पनि प्रशासनले जनाएको छ । हाल यस विद्यालयमा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, इलेक्ट्रिकल इन्जिनियरिङ, मानविकी, शिक्षा तथा ब्युटिसियन एवं हेयर डिजाइनसम्बन्धी प्राविधिक विषयहरूको अध्ययन–अध्यापन हुँदै आएको विज्ञान विभागका इन्चार्ज मोहन श्रेष्ठले जानकारी दिनुभयो ।



