बिषय वस्तु यथार्थ बुझेर मात्र बाहिर ल्याउनु, सामाजिक सञ्ंजालमा अराजक मच्चाउनु राम्रो होइन् –वडा अध्यक्ष अधिकारी

सनम रोक्का
भदौ ६, कानेपोखरी । खेलाडीहरुलाई वितरण गरिने भनेर खरिद गरिएको फुटबल केही थान वडा नं. ७ को वडाकार्यालयमै मुसाले काटेपछि केही दिन यता सामाजिक सञ्जालमा स्थानीय सरकारको आलोचना गरिएको छ ।

वडा नं. ७ का स्थानीय कृष्ण थामीले मुसाले काटेको फुटबल आफ्नो फेसबुक मार्फत सार्वजानिक गरेपछि सरोकारवाला सवैले प्रश्न गरेका थिए । वडा कार्यालयको दराजमा राखिएको ७ थान फुटबल मुसाले काटेको अवस्थामा थामीले फेला पारेको थियो ।

खेलाडी भाईहरुले वडामा खेलकुदका सामग्रीहरु छन पहल गरिदिनुप¥यो भनेपछि वडामा बुझ्दा ७ थान फुटबलहरु दराजमुनी मुसाले काटेको अवस्थामा देखे र नागरिकको सम्पत्तिको दुरुपयोग भयो भन्ने कारणले फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको कृष्ण थामीले बताए ।

यस विषयमा वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारीले विषय सामान्य रहेको र यथार्थ बिषय वस्तुलाई बुझेर मात्र बाहिर ल्याउन सबैसँग अनुरोध गरे ।

७ फुटबल मुसाले काटेको छ । गाउँपालिकाले दिएको सबै खेल सामाग्री वितरण गरिसकेको र मुसाले नकाटेको बाँकी २ वटा भलिबल, ४ वटा फुटबल, १ भलिबल नेट वितरण गर्न बाँकी रहेको वडाध्यक्ष अधिकरीले बताए ।

आर्थिक वर्ष २०७९÷०८० को असार १२ गते पालिकाले ९९ हजार ८३६ रुपैयाँमा ६ थान भलिबल, २ थान भलिबल नेटजाली, २ थान फुटबल नेटजाली, १९ थान फुटबल र ३० थान जर्सी सेट गाउँपालिकाले खरिद गरि २०८० साउन ३ गते वडालाई प्रदान गरेको थियो । पालिकाले वडालाई सो सामग्रीहरु प्रदान गरेपश्चात वडा कार्यालयमा स्टोर गरेर राखेको वडाध्यक्ष अधिकारी बताउँछन् । कार्यालयमा २०८० जेठ देखि नै धानको बिऊ स्टोर गरेर राखिएको स्थानमा मुसा पसेपछि फुटबल पनि मुसाले काटिदिएको उनले बताए ।

५ दिनको अवधिमा धाराको पाइपबाट मुसा छिरेर धान खानुको साथै ७ थान फुटबल पनि काटेको थियो । धान स्टोर गरिएको कोठामा बस्न सकिने अवस्था थिएन । हामीले पनि अर्कै कोठाबाट सेवा प्रदान ग¥यौं । पालिकाबाट प्राप्त गरेपछि एउटा टोलिलाई हामीले खेलकुद सामग्री प्रदान ग¥यौं र बिचको समयमा क–कसलाई दिने भनेर छलफलपछि साउन ९ गते खेलकुदको सामग्री हेर्दा ७ वटा फुटबल काटेको पत्ता पायौं र काटेको र नकाटेको छुट्याएर टोल, खेलाडी र फुटबल क्लबहरुलाई प्रदान गरेको वडाध्यक्ष अधिकारीले बताए ।

गाउँपालिकाले वडालाई प्रदान गरेपछि वडाले प्रेम लिम्बुलाई भलिबल १ थान, मितेरी युवा क्लब आइतबारेलाई फुटबल नेट १ सेट र फुटबल २ वटा, साइज्य युवा क्लबलाई फुटबल २ वटा, नवस्पोर्टिङ युथ क्लबलाई फुटबल २ वटा र १५ सेट जर्सी, भगिराज लिम्बुलाई फुटबल र भलिबल १–१ वटा र जनकल्याण माविलाई १५ सेट जर्सी, भलिबल नेट १ थान र भलिबल २ वटा वितरण गरिसेको थियो ।

हामीले काम गर्दागर्दै सामान्य गल्ती भएको हो तर आपसमा बसेर कमिकमजोरीलाई समाधान गर्नुको साटो सामाजिक संजालमा अराजक मच्चाउनु राम्रो नभएको वडा अध्यक्ष अधिकारीको भनाई थियो । उनले ७–८ महिनादेखि थन्काएर राखेको भन्ने कुरा गतल भएको बताए । गाउँपालिकाद्वारा गत स्थानीय तहको निर्वाचनपश्चात् वडागत रुपमा वितरण भएका खेल सामग्रीहरु त्यो समयमानै वितरण गरिसकिएको पनि जानकारी दिए ।

 

 

सम्बन्धित खवर