कात्र्तिक २६ गते, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का अनुगमनपछि अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा पुगेका छन् । प्रधानमन्त्री ओलीले संखुवासभाका विभिन्न आयोजनाको निरिक्षण गरेका छन् ।
बुधबार बिहान काठमाडौंबाट किमाथाङ्का पुग्नु भएका ओली नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट किमाथांकादेखि मकालु गाउँपालिका–५ फाक्सिन्दास्थित अरुण तेस्रो विद्युत् आयोजनाको ड्याम साइटमा पुगेका थिए ।
उनलाई त्यहाँ रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले रेड कार्पेट ओछ्याएको भन्दै बेग्लै ठाउँबाट हिडेका थिए । निर्माणाधीन मुख्यगरि सङ्खुवासभाको ३ स्थानको स्थलगत अवलोकन गरेका छन् । जसमा उत्तर दक्षिण कोशी राजमार्ग र निर्माणाधीन अरुण तेश्रो परियोजना छ ।
सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रोको काम २४ घण्टा नै लगातार भईरहेको अरुण तेश्रोको काम हाल ४० प्रतिशत भन्दा बढी सकिएको निर्माण कम्पनीले जनाएको छ ।अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जनाए ।
११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उनले जानकारी दिए । यसपछि बाँधको काम सुरु हुने उनले बताए । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ ।
ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्या सिंह शाह पनि छन्।
उनीहरुसँगै प्रदेश(१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल प्रधानमन्त्रीको टोलीमा छन् ।